PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

पुल नबन्दा डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता



रासस

पुल नबन्दा डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता
प्रतीकात्मक तस्विर।

दमक : हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ। निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नागरिकहरुको बाध्यता अझै हटेको छैन।

पुल समयमा नबन्दा वर्षामा आवतजावत ठप्प हुने र हिउँदमा पनि डुङ्गाको भरमा यात्रा गर्नुपर्ने अवस्था रहेको गौरीगङ्जकी टीकामाया लिम्बुले बताइन्। विसं २०६८ मा ३४ करोड रुपैयाँमा ठेक्का लागेको सात सय २४ मिटर लम्बाइको कन्काई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पुको जेभीको पार्टनर महादेव खिम्तीले काम सुरु गरेको छ। तर, पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन।

वर्षातले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको छ। वर्षातमा सधैँ काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन। यति ठूलो योजनामा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय अगुवा ईश्वर माझीले बताए।

पुल नबन्दा त्यहाँ वर्षौँदेखि नदी तर्न डुङ्गाको भर पर्नुपर्ने अवस्था हट्न सकेको छैन। झापामा हुलाकी सडकको अधिकांश कार्य सकिन लाग्दा मुख्य नदी र खोलाको तीन पुल नबन्दा भने सडक सञ्चालनमै समस्या हुँदै आएको गौरीगञ्ज वडा नम्बर १ चउरी बस्तीका अगुवा रामप्रसाद प्रसाईंले बताए।

दोस्रो विरिङ पुल भने आगामी वर्ष काम सकिने निर्माण कम्पन्नी लामा मैनाचुलीका इञ्जिनीयर राघव यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell