PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सांसद बेल्बासेको माग : संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गरियोस्



पहिलोपोस्ट

सांसद बेल्बासेको माग : संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गरियोस्

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्। सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद् ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन्।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद् रहेको छ। सोमवार राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद बेल्बासेले संविधान संशोधन गरी त्यसलाई सात सदस्यीय बनाउन उपयुक्त हुने तर्क गरिन्।

संवैधानिक परिषद्सम्बन्धी विधेयक सभामा छलफल भइरहेको उल्लेख गर्दै उनले त्यसमा सो व्यवस्था गर्न सबै सांसदहरुको ध्यानाकर्षण समेत गराइन्।

उनले भने, ‘यो सात जनाको बनाइयोस्, जसबाट बहुमत ४ जनाको हुन्छ। चार जनाको कोरम पुगेपछि निर्णय गर्दाखेरी एउटा सम्मानजनक अवस्थामा हामीले देशका संवैधानिक अंगहरुमा त्यो नियुक्त गर्न सक्छौँ भन्ने कुरा म यहाँ राख्न चाहन्छु।’

सांसद बेल्बासेले संवैधानिक परिषद्लाई आफ्नो काम सहज ढंगले अघि बढाउन पनि सात सदस्यीय बनाउन उपयुक्त हुने दावी गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell