PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सार्वजनिक यातायातको भाडा अनुगमन गर्न सरकारलाई विकास समितिको निर्देशन



पहिलोपोस्ट

सार्वजनिक यातायातको भाडा अनुगमन गर्न सरकारलाई विकास समितिको निर्देशन
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ। सोमवार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणगढ-मुग्लिन र मुग्लिन-पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणी कुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन्।

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन्। उनले सडक सीमा अतिक्रमण गरी सडक सीमाभित्र बनाइएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन्।

उनले भनिन्, ‘सार्वजनिक यातायातको भाडादर पेट्रोलियम पदार्थको मूल्य समायोजन समेत वैज्ञानिक ढंगले स्वचालित प्रणाली अपनाएको भएपनि सार्वजनिक यातायातले मनोमानी रुपमा भाडा असुल्ने सर्वसाधरणको गुनासो आएको कारण यसको नियमित रुपमा भरपर्दा अनुगमन गर्न र संस्थागत संयन्त्र तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन समिति भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ।’

सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिइन्। उनले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तरोन्नतिको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखी निर्माणाधिन नारायणगढ-मुग्लिन र मुग्लिन-पोखरा सडक स्तरोन्नतिको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिइन्।

उनले भनिन्, ‘सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा हटाउन तथा देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन समिति भौतिक तथा उर्जा मन्त्रालयलाई निर्देशन गर्दछ। राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तरोन्नतिको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखि निर्माणाधिन नारायणघाट-मुग्लिन र मुग्लिन-पोखरा सडक स्तरोन्नतिको कार्य निर्धारित समय र गुणस्तरीय बनाएर तीव्र रुपमा अगाडि बढाउन भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell