PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित पक्राउ परेका नवराज ढुङ्गाना हुण्डी कारोबारी, जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर



पहिलोपोस्ट

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित पक्राउ परेका नवराज ढुङ्गाना हुण्डी कारोबारी, जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर
फाइल फोटो

काठमाडौं : केही समयअगाडि स्रोत नखुलेको रकमसहित पक्राउ परेका नवराज ढुङ्गानाले हुण्डीको कारोबार गरेको खुलेको छ। राजस्व अनुसन्धान विभागको अनुसन्धानपछि हुण्डी कारोबार भएको पुष्टि भएको हो।

प्रहरीले रंगेहात पक्राउ गरेको नवराज ढुङ्गानाको ६९ लाख जफत भएको छ। विदेशी विनिमय अनुमति नलिई कारोबार गर्ने गरेका ढुङ्गानाको सो रकम जफत भएको हो।

ढुङ्गानालाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त, बालाजु, काठमाडौंको संयुक्त टोलीले स्रोत नखुलेको ६९ लाख ९९ हजार रूपैयाँसहित पक्राउ गरेको थियो।

प्रहरीले प्रतिवेदनसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा दाखिला गरेको थियो। खानतलासी तथा बरामदी मुचुल्का, प्रतिवेदन, प्रतिवादीहरुको बयान, खानतलासी तथा बरामदी गर्ने प्रहरी कर्मचारीहरुले गरिदिएको कागज, कल डिटेल्स रेकर्ड, समेतबाट उक्त रकमका सम्बन्धमा अनुसन्धान हुँदा अवैध हुण्डी कारोबार गरेको पुष्टि भएको विभागले जनाएको छ।

अनुसन्धानमा सो रकम जापानमा रहेका भनिएका प्रज्वल ढुंगानाले सुवासजङ्ग पाण्डेलाई भने मुताविक सुवासजङ्ग पाण्डेले नवराज र फणिन्द्रलाई वरामद उक्त रकम उपलब्ध गराएको देखिएको हो।

अनुसन्धानको क्रममा प्रतिवादीहरूले बरामद गरिएको रकमलाई पुष्टि तथा प्रमाणित गर्ने कागजात पेश गर्न नसकेको, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र नलिएको भेटिएको छ।

प्रतिवादीहरूले नेपालमा आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखी वरामद भएको नेपाली रुपैयाँ बराबरको विदेशी मुद्राको अवैध कारोबार गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१), ४(१), ५, (ग) तथा १२ विपरीतको कसूर गरेको देखिएको छ।

विभागले अनुसन्धान टुंग्याएर थप कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell