PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

१९९७ मा तत्कालीन अमेरिकी सभामुखको भ्रमणमा मौनजस्तै रहेको चीन यसपाली किन आक्रामक?



विधुर ढकाल

१९९७ मा तत्कालीन अमेरिकी सभामुखको भ्रमणमा मौनजस्तै रहेको चीन यसपाली किन आक्रामक?

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणसँगै अहिले ताइवान क्षेत्रमा तनाब बढिरहेको छ। यस क्षेत्रमा बढ्दो तनाबसँगै १९९६ को ताइवान संकट र १९९७ को तत्कालीन अमेरिकी सभामुख न्युट गिङ्रिचको ताइवान भ्रमणसँग जोडेर हेरिएको छ।

ताइवान मामिलामा १९९६ को संकटलाई ‘थर्ड ताइवान स्ट्रेइट क्राइसिस’को नामले चिनिन्छ। अहिले पेलोसीको ताइवान भ्रमणलाई लिएर अमेरिकी अधिकारीहरुले सामान्य भ्रमण भन्दै व्याख्या गरिरहेका छन्।

उनीहरुले सभामुखले आफूले चाहेको देशमा पुग्न सक्ने र यसमा प्रशासनको कुनै हात नहुने बताइरहेका छन्। त्यस्तै, उनीहरुले १९९७ मा गिङ्रिचको ताइवान भ्रमणलाई देखाएर कुनै असर नपर्ने बताउँदै आएका छन्।

तर चिनियाँ अधिकारीहरु भने गिङ्रिचको त्यो भ्रमण गल्ती थियो भन्दै एउटा गल्ती अर्को गल्तीले ढाक्न नसक्ने बताउँदै आएका छन्।

‘अघिल्लो गल्तीले पछिल्लो गल्तीलाई वैध बनाउँदैन,’ राष्ट्र संघका लागि चिनियाँ राजदूत झाङ चुनले न्यूयोर्कमा गत साता पत्रकार सम्मेलनमा भनेका थिए। झाङ अगस्टभर राष्ट्र संघको सुरक्षा परिषद्को अध्यक्षता गर्दै छन्

गिङ्रिचको त्यो भ्रमण

गिङ्रिचले ताइवानमा १९९७ अप्रिल २ मा भ्रमण गरेका थिए। उनी ताइवानमा तीन घण्टामात्र बसेका थिए

१९९७ मार्चमा गिङ्रिचले १३ अमेरिकी सांसदको नेतृत्व गर्दै एसियाली देशको भ्रमण गरेका थिए। यो भ्रमणमा चीन पनि समावेश थियो।

उनले चीन, दक्षिण कोरिया, जापान, हङकङको भ्रमण गरेका थिए। उनी सोही क्रममा ताइवानमा तीन घण्टा बिताएका थिए। उनको यो भ्रमण पूर्ववत: घोषित भ्रमण भने थिएन। भ्रमणको अन्तिममा उनी ताइवान पसेर वासिङ्टन फर्किएका थिए।

हङकङलाई त्यसको एक महिनापछि बेलायतले चीनलाई हस्तान्तरण गरेको थियो। त्यतिबेला चीनले गिङ्रिचलाई बेइजिङ र साङ्हाई भ्रमणका लागि निम्तो दिएको थियो।

उनले बेइजिङलाई पहिल्यै ताइवान भ्रमण गर्ने बताएका थिए। त्यतिबेला पनि चीनले ताइवान भ्रमण नगर्न चेतावनी दिएको थियो।

यद्यपि, उनीहरुले मुख्यभूमि चीनबाट नभई ट्रान्सिट पारेर ताइवान भ्रमण गर्न सुझाएका थिए। त्यसै अनुरुप त्यतिबेला जापान हुँदै फर्किने क्रममा ताइवानमा तीन घण्टा ट्रान्जिट पारिएको थियो।

त्यतिबेलाको अमेरिकी राष्ट्रपति बिल क्लिन्‍टन प्रशासनले उनको भ्रमणलाई व्यक्तिगत र उनको अभिव्यक्तिलाई पनि व्यक्तिगत भनेर टिप्पणी गरेको थियो। त्यतिबेला गिङ्रिच र क्लिन्टन फरकफरक पार्टीका थिए। र, उनीहरुबिच मतभिन्नता थियो।

त्यतिबेला अहिलेको जस्तो अवस्था थिएन नै। एक वर्ष अगाडि १९९६ मा ताइवान संकट गहिरिँदा चीनले ताइवानलाई लक्षित गरी सैन्य अभ्यास सञ्चालन गरेको थियो। चीनले जुलाई २१, १९९५ देखि मार्च २३, १९९६ सम्म ताइवान जलडमरु क्षेत्रमा मिसाइल परीक्षण गरेको थियो।

यो संकट ताइवानका नेता (स्वशासित रिपब्लिक अफ चाइनाका राष्ट्रपति) ली तङ हुइले अमेरिका भ्रमणको निम्तो स्वीकार गरेपछि सुरु भएको थियो। कोर्नेल युनिभर्सिटीको अल्मा म्याटरमा उनलाई प्रवचन दिन निम्ताइएको थियो। त्यसको एक वर्ष अगाडि १९९४ मा उनी दक्षिण अमेरिकामा फर्किने क्रममा उनको विमान होनोलुलुमा रोकिएको थियो।

त्यतिबेला बिल क्लिन्टन प्रशासनले लीलाई भिसा प्रदान गर्न अस्वीकार गरेपछि उनी मिलिटरी एयरफिल्डमा उनको विमान अवतरण भएको थियो। उनी त्यहाँ रातभर विमानमै बसेका थिए।

त्यसको एक वर्षपछि उनलाई उत्तर अमेरिकामै निम्तो दिइयो। त्यतिबेला पनि उनको भिसा रोक्ने प्रयत्न प्रशासनले गरेको थियो। तर, ‘स्वतन्त्र ताइवान’का पक्षधरहरुले संसद्मै प्रस्ताव पुर्‍याए। सांसद टम लान्टोसले लीलाई भिसा उपलब्ध गराउन संसद्मा प्रस्ताव दर्ता गराए

उक्त प्रस्तावमा १९९५ मे २ मा पास भयो। प्रस्तावको पक्षमा तल्लो सदनमा ३९६ जनाले मतदान गर्दा ३८ जना मतदानमा सरिक भएनन्।

मे ९ मा सिनेटमा ९७ जनाले पक्ष, १ विपक्ष र २ ले मतदानमा सरिक नभई प्रस्ताव पारित भयो। उनी अमेरिका भ्रमणमा गए। त्यहाँ उनले विश्व विद्यालयमा प्रवचन दिए। उनी यही विश्व विद्यालयबाट एग्रिकल्चरल इकोनमिक्समा पीएचडी गरेका थिए।

त्यसको प्रतिक्रिया स्वरुप चीनले मिसाइल प्रक्षेपण गर्‍यो। त्यसको प्रतिरोधमा अमेरिकाले ठूलो संख्यामा सैन्य उपस्थिति साउथ चाइना सीमा गरायो। जुन भियतनाम युद्धपछि एसियामा परिचालन गरिएको ठूलो सैन्य परिचालन थियो।

अमेरिकाले युएसएस बेल्लेउ वुड (डेभिल डग), युएसएस ओ'ब्रायन, युएसएस म्याक क्लसी एफएफजी-४१, युएसएस निमित्ज ताइवान जलडमरुमा परिचालन गरेको थियो। त्यस्तै, १९९६ मा क्लिन्टनले थप जहाज त्यहाँ पठाउन आदेश दिए। दुई वटा एयरक्राफ्ट क्यारियर ब्याटल ग्रुप, क्यारियर ग्रप फाइव पनि युएसएस इन्डिपेन्सन्स (सीभी-६२)मा केन्द्रित भए। ग्रुप सेभनलाई निमित्जमा राखियो।

त्यतिबेला चीनको शक्ति ठूलो थिएन। तर, अहिले चीनको सैन्य क्षमता बढेको छ। अहिले ताइवानलाई ६ दिशाबाट एकैपटक घेरेर सैन्य अभ्यास गरेको छ चीनले।

चीनले पेलोसीको यो भ्रमणलाई खतरनाक र उत्तेजक कदम भनेको छ। उसले पेलोसीको भ्रमणलाई आन्तरिक मामिलामा हस्तक्षेप र चीन अमेरिका सम्बन्धको बाधकको रुपमा व्याख्या गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell