PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन प्रतिबद्ध छु : मन्त्री यादव



पहिलोपोस्ट

नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन प्रतिबद्ध छु : मन्त्री यादव

काठमाडौं: वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। दक्षिण एसियाली देशहरुमा रहेका नदी तथा समुन्द्रलाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप)ले आज आयोजना गरेको कार्यशालामा मन्त्री यादवले नेपालमा प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफू लागि परेको बताए।

‘प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन,’ उनले भने।

मन्त्री नियुक्त भएपछि छोटो समयमै धेरै कामहरुको सुरुवात गरेको दाबी गर्दै उनले ४० माइक्रोन भन्दा कम मोटाइको प्लाष्टिकको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्न आफूले निर्देशन दिएको जानकारी गराए। मन्त्री यादवले केही दिनअगाडि मात्रै मन्त्रालयबाट एउटा सूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रतिबन्धलाई कडाइका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका थिए।

त्यसैगरी, उनले प्लाष्टिकजन्य पुष्पगुच्छा तथा मालाको आयात, बिक्री र भण्डारणमा पनि आफूले मन्त्रीस्तरीय निर्णय गर्दै प्रतिबन्ध लगाएको जानकारी दिए। प्रतिबन्धले प्रदूषण न्यूनिकरण गर्नुका साथै देशमा प्राकृतिक फूल उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने र व्यापार घाटासमेत कम गर्ने उनको विश्वास छ।

आगामी भदौ १ गतेदेखि प्लाष्टिक प्रदूषणमुक्त बनाउन थप कामहरु पनि हुन गइरहेको बताउँदै वीरगंजस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट अनुगमन गर्न निर्देशन दिएको बताए।

‘वीरगंजको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन म लागिपरेको छु, मन्त्रालयबाट खटेको एउटा विज्ञहरुको टोलीले त्यहाँ अनुगमन गर्दैछ, अनुगमनको प्रतिवेदन आउनसाथ नदीलाई प्रदूषित गर्ने उद्योगहरुलाई कारबाही गर्ने प्रकिया सुरु हुन्छ,’ उनले भने।

आफूहरुले राष्ट्रियस्तरबाट प्लाष्टिकजन्य फोहर र प्रदूषण कम गर्न निरन्तर काम गरिरहेपनि अन्तर्राष्ट्रियस्तरको सहयोग बिना त्यो अपर्याप्त हुने उनको भनाइ थियो।

‘प्लाष्टिक प्रदूषणमुक्त बनाउन हामी एक्लैले चालेका कदमहरु अपर्याप्त हुन सक्छन, अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको पनि आवश्यकता छ, हाम्रो अभियानमा सबैको साथ र सहयोग हुनुपर्दछ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell