PahiloPost

May 15, 2024 | २ जेठ २०८१

कार्यदलको बैठकमा टिकट बाँडफाँटको मूल विषय प्रवेश नै भएन, लोसपा र बाबुरामलाई पनि गठबन्धनमा ल्याउन छलफल



प्रकाश भण्डारी

कार्यदलको बैठकमा टिकट बाँडफाँटको मूल विषय प्रवेश नै भएन, लोसपा र बाबुरामलाई पनि गठबन्धनमा ल्याउन छलफल
फाइल फोटो

काठमाडौं: सत्ता गठबन्धनले गठन गरेको टिकट बाँडफाँट कार्यदलको बैठकमा भागबण्डाको मापदबण्डबारे छलफल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा टिकट भागबन्डाको मापदण्डबारे छलफल भएको हो।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि टिकट बाँडफाँटका लागि कार्यदल गठन गर्ने गठबन्धनको साउन २० गतेको बैठकले निर्णय गरेको थियो। कार्यदललाई साउन अन्तिम सम्म भागबन्डाको मापदण्ड तयार पार्न समयसीमा तोकिएको छ। कार्यदलको सोमबार बसेको पहिलो बैठकमा औपचारिक रुपमा प्रारम्भ मात्रै भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव तथा कार्यदल सदस्य डा.बेदुराम भुसालले जानकारी दिए।

'आज सामान्य छलफल भएको छ। अब कसरी जाने। विषयहरु कसरी मिलाउने। मापदण्ड कस्तो बनाउने भन्नेबारेमा औपचारिक छलफल मात्रै भएको छ। मुख्य विषयहरुमा प्रवेश गरिसकेको छैन्,' उनले भने। 

आजको बैठकमा मापदण्डबारे कार्यदलका सदस्यहरुले सुझाव दिएका थिए। उक्त सुझावका आधारमा मापदण्ड बनाएर शीर्ष नेतासँग छलफल गर्ने कार्यदलको तयारी छ। दलहरुले चुनावमा आफ्नो पार्टीले पाउनुपर्ने टिकटको अडानबारे सोमबारको पहिलो बैठकमा छलफल नै नभएको कार्यदलका सदस्यहरुले बताएका छन्।

गठबन्धनमा रहेका नेपाली कांग्रेस,नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल जसपा र राष्ट्रिय जनमोर्चाले आ-आफ्नो पार्टीभित्र टिकटका बारेमा छलफल गरिरहेको भए पनि गठबन्धनमै दाबी प्रस्तुत गरिसकेका  छैनन्।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई दोस्रो दल बन्नेगरी सिट पाउनुपर्ने दाबी गरिहरेका छन् भने नेपाली कांग्रेसले पनि सय सिट पाउनुपर्ने दाबी गरिरहेको छ। प्रतिनिधि सभामा प्रत्यक्षमा १६५ सिट सत्ता गठबन्धनले दलहरुबिच बाँडनुपर्ने छ। दलहरुको अवस्था, स्थानीय तहको परिणाम, व्यक्तिको लोकप्रियताका आधारमा टिकट बाँडिने नेताहरु बताउँछन्। 

बैठकले संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलालाई तोकेको छ। साउन १९ गते चुनावको घोषणा गरेका देउवाले भोलिपल्टै गठबन्धनको बैठक बोलाएर चुनावमा गठबन्धन गरेर जाने निर्णय गराएका थिए।

उक्त निर्णय अनुसार कार्यदलको सुझावका आधारमा टिकट बाँडफाँट हुने छ। ११ सदस्यीय कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ छन्। यस्तै एकीकृत समाजवादीबाट महासचिव भुसाल र उपाध्यक्ष प्रमेश हमाल सदस्य छन् भने जनता समाजवादी पार्टी नेपाल जसपाबाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन्। राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलको सदस्य छन्। 

यस्तै कार्यदलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपालाई पनि सहभागी गराउनेबारेमा छलफल भएको छ। यस्तै डा.बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नेपाल समाजवादी पार्टीका बारेमा पनि चर्चा भएको थियो। पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमै सहभागी गराउन चाहेका छन्। आइतबार बालुवाटारमै लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतको टोलीले देउवालाई भेटेको थियो। उक्त भेटमा सरकारमा सहभागी हुने बारेमा पनि छलफल भएको थियो। लोसपाका तर्फबाट नेताहरु अनिल झा र सरतसिंह भण्डारी मन्त्रि हुने तयारी भइरहेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell