
काठमाडौं : मेलम्ची नगरपालिकाका पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने भएको छ। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ती तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधैँ तयार रहेको बताएका हुन्।
तामाङले अहिले नगरपालिकाको प्रायः सबै वडाहरुमा पहिरो गइरहेको, नदी तटीय क्षेत्रहरुमा नदीले कटान गरिरहेको अवस्थामा नगरले भ्याएसम्मको काम गरिरहेको बताए। सोमबार उनले वडा नं २ निबुगाउँमा गएको पहिराको स्थलगत अवलोकन गरेका थिए। त्यसक्रममा उनले जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।
यस्तै, नगर उपप्रमुख उमा प्रधानले पनि नगरका कमजोर भूभागमा अहिले धमाधम पहिरो गइरहेको भन्दै जोखिममा रहेका बस्ती संरक्षण र स्थानान्तरणमा नगरले पीडितहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएकी छिन्। उनले अझै पनि पानी परिरहेको बताउँदै जोखिमयुक्त स्थानमा नबस्नसमेत आग्रह गरेकी छिन्। ।
जोखिम न्यूनिकरणका लागि स्थानीय सरकारले मात्र काम गर्न नसक्ने भन्दै प्रधानले संघ र प्रदेश सरकारले पनि यस विषयमा चासोका साथ हेर्नुपर्नेमा जोड दिइन्।
साउन २० गते बेलुका गएको पहिराले निबुगाउँका १६ घर उच्च जोखिममा रहेको छ भने जोखिममा रहेकाहरु छिमेकीमा आश्रय लिएर बस्न परेको स्थानीय रामचन्द्र दुलालले बताए। अवलोकनपछि काउले भोटेचौर सडक खुलाउनका लागि काम सुरु भएको छ।