PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

खोटाङको जिल्ला अस्पतालमा संचालनमा आयो अक्सिजन प्लान्ट, ट्रसलाई लिएर विवाद



पहिलोपोस्ट

खोटाङको जिल्ला अस्पतालमा संचालनमा आयो अक्सिजन प्लान्ट, ट्रसलाई लिएर विवाद

काठमाडौं : जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्ट संचालनमा ल्याइएको छ। प्रदेश नं १ सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको एक करोड ५० लाख लगानीमा प्लान्ट स्थापना गरिएको हो।

अस्पताल परिसरमा स्थापना गरिएको सो प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुने जिल्ला अस्पतालका बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी दिइन्।

अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा ल्याइएसँगै सिलिण्डरमा अक्सिजन भरेर प्रयोग गर्न सुरु गरिएको छ। प्लान्टबाट उत्पादन भएको अक्सिजन अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क तथा निजी अस्पताललाई प्रतिकेजी १५ रुपैयाँमा बिक्री गर्ने निर्णय अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले जानकारी दिए।

प्लान्ट संचालनमा आएपछि अक्सिजन खरिद गर्न विराटनगरलगायतका ठाउँ धाउनुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताइन्। ‘प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको अक्सिजन प्लान्ट संचालनमा आएपछि हामी अक्सिजनमा आत्मनिर्भर भएका छौं”, उनले भनिन्, ‘बिरामीका लागि अक्सिजन निःशुल्क भएपछि हामीलाई काम गर्न पनि सजिलो भएको छ।’

अहिले सिलिण्डरमा भरेर प्रयोग गर्न सुरु गरिएको अक्सिजन आगामी दिनमा निर्माणाधीन ५० शय्याको अस्पलात संचालनमा आएपछि पाइप लाइनमार्फत बिरामीको शय्यामा पुर्‍याउने लक्ष्य राखिएको छ। वि.सं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ३० वर्षपछि संघीय सरकारको करिब २१ करोड लगानीमा ५० शय्यामा स्तरोन्नति गर्ने काम थालिएको छ।

यता, मुन रक्स इन्टरनेशनल प्रालिले जडान गरेको अक्सिजन प्लान्टको ट्रस भने कच्चा बनेको भन्दै विरोध भइरहेको छ। विरोधपछि प्रालिले ट्रसमा प्रयोग गरिएको जाली फेर्नुका साथै पर्खाल प्लास्टर गरेर जस्तापाता लगाएको छ। अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको छ। तर ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन। अन्य ठाउँमा पनि सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने हेभीवेट गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने जोखिम देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell