PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अहिले पोखरीमा  सपिङ मल, नदीमा सडक, कस्तो थियो पहिलेको काठमाडौं ?

अहिले पोखरीमा सपिङ मल, नदीमा सडक, कस्तो थियो पहिलेको काठमाडौं ?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं निकै परिवर्तन भइसकेको छ। २०-३० वर्ष अघि खुला रहेका स्थानहरु घरैघरले भरिएका छन्। नदीमाथि सडक बनेको छ। पोखरीमा सपिङ मल ठडिएका छन्। खेतीयोग्य जमिन फेला पर्नै गाह्रो भइसक्यो।

कुनै बेलाको सुन्दर काठमाडौंको याद कतिलाई होला अहिले?

पाटनको धौग: (धौगल)स्थित पाटन हाउसमा काठमाडौंको पुरानो यादहरु हेर्न पाइन्छ अहिले। नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा भइरहेको काठमाडौं भ्याली अर्बन हिस्ट्री प्रोजेक्टमा विगतको काठमाडौंका तस्विर कथाहरु प्रदर्शनीमा छन्। यो प्रदर्शनीको ‘थिम’ हो : वेगवान समय, उहिलेका खोला, र आकाश ढाक्ने सपनाहरु।

प्रोजेक्ट अन्तर्गत त्यहाँ बौद्ध, टुँडिखेल, काठमाडौं उपत्यकाका धारा, पोखरी, फल्चा, त्यसबेलाको ‘साइकल कल्चर’ लगायतको तत्कालीन अवस्था र अहिलेको अवस्थालाई देखाइएको छ।

‘जहाँ खोला गल्ली बन्छन् र नदी सडक बन्छन्,’ मिङ्केच लामाले तस्विर मार्फत बौद्धको अवस्था चित्रण गर्न प्रयोग गरेका शब्द हुन् यिनीहरु। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध भारी वर्षासँगै जलमग्न बन्छ। बढ्दो शहरीकरणसँगै बौद्ध क्षेत्रलाई ‘रिचार्ज’गर्ने पोखरा र धाराहरु विनाश भएसँगै त्यहाँको समस्या बढेको हो। बौद्धको पुरानो चित्रहरुसँग अहिलेका चित्रहरुले वर्तमान समयमा बढ्दै भएको कंक्रिट मोहलाई दर्साउछ।

फोटो पत्रकार मोनिका देउपालाले भक्तपुरका फल्चाहरुबारे फोटो कथा तयार पारेकी छिन्। प्रोजेक्ट अन्तर्गत पाटन हाउसमा अहिले सो कथा हेर्न सकिन्छ। हराउँदै गएका फल्चाहरु र ब्युतिँदै गएका फल्चासँग समुदायको सम्बन्ध देउपालाले प्रस्तुत गरेकी छिन्।

प्रकाश खनालले काठमाडौं उपत्यकामा साइकल संस्कृति कस्तो थियो भनेर खोतलेका छन्। उनले २० औं शताब्दीको पूर्वार्धमा महिलाका लागि साइकल सवारीसाधनमात्र नभइ अन्य अर्थमा पनि उत्तिकै महत्पपूर्ण थियो भनेर प्रोजेक्टमार्फत देखाएका छन्। साथै, त्यो बेलाको साइकल महत्व र मोटरसाइकल र गाडी आएपछि घटेको साइकलको महत्वलाई पनि उनले देखाउन खोजेक छन्।

अहिले धरहरासँगैको सिभिल मल भएको स्थानमा नाग पोखरी थियो। त्यसबेला पोखरी भएको प्रमाण तस्विरहरुमा कैद छन्। तर पनि त्यो पोखरी रहेको स्थानमा कसरी घर र मल ठडिए, त्यसको उत्तर आजसम्म पनि पाइएको छैन। ठमेलस्थित छायाँदेवी कम्प्लेक्स बनेको स्थानमा पनि पहिला कमल पोखरी रहेको स्थानीय बताउँछन्। यस्तै, काठमाडौंका पोखरीहरुका बारेमा प्रोजेक्टमा मोनालिसा महर्जनले आफ्नो ‘स्टोरी’ प्रस्तुत गरेकी छिन्।

उनले पोखरीको महत्व दर्साउँदै नक्सालस्थित नागपोखरी, हाँडीगाउँ स्थित गहना पोखरीको पुराना तस्विरलाई संग्रहमा राखेकी छिन्। काठमाडौंको टौदह वरिपरि बनेका कंक्रिट संरचनाले त्यहाँको ‘इकोलोजी’ मा परेको प्रभावलाई पनि उनले प्रस्तुत गरेकी छिन्। साथै, हाल सिभिल मलका साथै अन्य घर बनेको स्थानमा पहिला रहेको पोखरीलाई पनि उनले आफ्नो प्रोजेक्टबाट देखाएकी छिन्। पोखरी नासिँदै गएको र अतिक्रमणमा परेको विषयलाई उनले प्रस्तुत गरेकी छिन्।

यस्तै, तृप्ती तामाङ पाख्रिनले टुँडिखेलको पुराना यादहरुलाई तस्विरबाट देखाउन खोजेकी छिन्। कुनै बेला एसियाकै विशाल मैदान कहलिएको टुँडिखेल अतिक्रममा पर्दै अहिले खुम्चिएको छ। तृप्तीले आफ्नो प्रोजेक्टमार्फत हराउँदै गएको टुँडिखेलको कथा भनेकी छिन्।

यो प्रोजेक्ट सन् २०२० को मार्च महिनामा सरु भएको थियो। अध्येताहरुले स्वतन्त्र अध्ययनबाट प्रोजेक्ट तयार पारेका हुन्। हामीलाई विगत र वर्तमानको काठमाडौंको तुलना गर्न बाध्य पार्ने यो प्रदर्शनी असोज १४ सम्म संचालन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell