
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ। शनिवार जारी भएको सूचनाअनुसार आइतवार साउन २२ गतेदेखि साउन ३१ गतेसम्म राजनीतिक दलहरुले निर्वाचनमा सहभागी हुन दल दर्ता गर्नुपर्ने छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि ११६ दलले दल दर्ता गर्न पाउनेछन्।
आयोगले साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका दलहरुलाई प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ता गर्न पाउने छन्।
स्थानीय तह निर्वाचन यता आयोगमा थप चार दल दर्ता भएका छन्। वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनअघि आयोगमा ११२ दल दर्ता थिए।
आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि गत वर्ष फागुन १२ गते अगाडि आयोगमा दर्ता भएका दललाई स्थानीय तह निर्वाचनमा सहभागी हुन दल दर्ताको लागि आह्वान गरेको थियो। सोहीअनुरुप फागुन १२ गते अगाडि आयोगमा १११ दल दर्ता थिए। जसमध्ये ८० वटा दलले निर्वाचनमा सहभागी हुनका लागि दल दर्ता गराएका थिए।
त्यस्तै गत वर्ष फागुन २९ गते मनमोहन शमशेर राणा अध्यक्ष रहेको देशभक्त लोकतान्त्रिक पार्टी आयोगमा खुलेको ताला चुनाव चिन्हसहित दर्ता भएको थियो।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि असार १७ गते आयोगमा रवि लामिछाने नेतृत्वको गोलाकारको बीचमा घण्टी चुनाव चिन्हसहित राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको छ। अनन्तराज घिमिरे नेतृत्वको लौरो चुनाव चिन्हसहितको हाम्रो नेपाली पार्टी असार २९ गते दर्ता भएको छ।
त्यस्तै श्यामबाबु गौतमले साउन १२ गते पुनर्जागरण पार्टी, नेपाल र वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान साउन १२ दर्ता गराएका गराएका छन्।
अघिल्लो निर्वाचनभन्दा ४५ दल बढी, १० कम्युनिष्टका फ्र्याक्सन
निर्वाचन आयोगमा २०७४ सालको मंसिरमा सम्पन्न निर्वाचनअगाडि दर्ता भएका ७१ दल अहिले पनि कायम रहेका छन्। २०७४ साल मंसिरमा सम्पन्न निर्वाचन अगाडि रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी आयोगमा अन्तिम दलको रुपमा दर्ता भएको थियो।
उक्त निर्वाचनपछि थप ४५ दल निर्वाचन आयोगमा दर्ता गराएका थिए। त्यसयता नेकपा एमालेसँग अलग भए बनेको नेकपा एकीकृत समाजवादीदेखि नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान दर्ता भएका छन्। त्यस्तै माओवादी केन्द्रसँग अलग भएर बनेको माओवादी कम्युनिस्ट पार्टी, माओवादी जनमुक्ति पार्टी, नेकपा माओवादी समाजवादी दर्ता भएका छन्।
२०७४ को निर्वाचनपछि मात्र यी कम्युनिस्ट दलबाहेक थप पाँच कम्युनिस्ट पार्टी दर्ता भएका छन्। नेकपा गौरवशाली, नेकपा (समाजवादी), नेकपा परिवर्तन, नेकपा (लोकतान्त्रिक), नेकपा (पुष्पलाल) दर्ता भएका छन्।