![रूपन्देहीका ५ निर्वाचन क्षेत्र : विगत यस्तो, चर्चा कसको?](https://pahilopost.com/assets/upload/contentthumb/rupendehi.png)
बुटवल : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणासँगै रुपन्देहीमा उम्मेदवार चयनका लागि प्रमुख दलका नेताहरूले गृहकार्य सुरू गरेका छन्। सरकारले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ।
रुपन्देहीमा संघ तथा प्रदेशको आगामी निर्वाचनका लागि नेताहरू 'को कहाँबाट उम्मेदवार बन्लान्?' भन्ने परिचर्चा सुरू भइसकेको छ। विगतमा राजनीतिक दलका नेताहरुका बिचमा केन्द्रित रहने निर्वाचनको चर्चा यसपटक स्वतन्त्र उम्मेदवारसम्म तन्किएको छ।
यस्तो छ विगत
प्रतिनिधि सभाका ५ र प्रदेशसभाका १० निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस ठूलो दल बनेको छ। नेकपा (एमाले) दोस्रो स्थानमा झरेकाले यसपटक एमालेलाई विगतको विरासत जोगाउने चुनौती थपिएको छ।
२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ एमालेले ३ र कांग्रेसले २ निर्वाचन क्षेत्र जित हात पारेका थिए। त्यस्तै प्रदेश सभातर्फ एमालेले ५, कांग्रेसले ३, नेकपा माओवादी केन्द्रले १ र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ क्षेत्रमा जित निकालेका थिए।
स्थानीय निर्वाचनबाट हौसिएको नेपाली काङ्ग्रेस र रक्षात्मक अवस्थामा पुगेको नेकपा एमाले अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आफू अनुकूल बनाउने गृहकार्यमा जुटेको देखिन्छ। यहाँका अधिकांश क्षेत्रमा अहिले पनि पुरानै अनुहार दोहोरीने चर्चा छ।
पुरानै भिडन्त
रुपन्देहीको क्षेत्र नम्बर १ मा अहिले पनि एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा र कांग्रेस नेता अब्दुल रज्जाक नै उम्मेदवार बन्ने निश्चितजस्तै छ। २०७४ मा यहाँ विश्वकर्माले रज्जाकलाई पराजित गरेका थिए भने २०७० सालमा तिनै विश्वकर्मालाई रज्जाकले हराएका थिए। यस क्षेत्रमा दुवै जनाको दोहोरिए प्रतिस्पर्धा हुँदै आएको छ। २०७४ मा विश्वकर्माले ३४ हजार ७५२ मत ल्याएर विजयी हुँदा रज्जाकले २६ हजार ८६५ मत पाएका थिए।
विश्वकर्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् भने रज्जाक कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन्। यो क्षेत्र राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको पनि राम्रो पकड भएको क्षेत्र हो। तर बोहोरा अहिले क्षेत्र नम्बर ३ बाट उठ्ने चर्चा छ। २०७४ मा प्रदेश सभातर्फ वाम गठबन्धनबाट तत्कालीन माओवादीका दधिराम न्यौपाने र एमालेका कृष्ण न्यौपाने विजयी भएका थिए। यस क्षेत्रमा देवदह नगरपालिका र तिलोत्तमा ७–१७ नम्बरसम्मका वडा, ओमसतिया गाउँपालिका १–६ नम्बरसम्मका वडा र रोहिणी गाउँपालिका पर्छन्। न्यौपाने अहिले एमालेमा छन्।
पौडेललाई विरासत जोगाउन चुनौति
लुम्बिनी प्रदेशको अस्थायी मुकामसमेत रहेको बुटवल रुपन्देही २ नम्बर क्षेत्रमा पर्छ। यो क्षेत्र एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र पनि भएकाले सधैं चर्चामा रहने गर्छ। पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका छन्। तर, २०५४ सालपछि कुनै पनि निर्वाचनमा जित निकाल्न नसकेको कांग्रेसले यसपटक गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा एमालेको ‘गढ’भत्काएको छ।
रुपन्देहीमा स्थानीय निर्वाचनको अनपेक्षित परिणामसँगै एमाले उपाध्यक्ष पौडेल आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय देखिएका छन्। रुपन्देही २ मा एमालेबाट उनै पौडेल उम्मेदवार बन्ने निश्चित जस्तै छ। भने, कांग्रेसले कसलाई उम्मेदवार बनाउला भन्ने सबैको चासोको बिषय बनेको छ।
२०७४ सालमा पौडेलले कांग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए। पौडेलले ४४ हजार ९ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी गिरीले २१ हजार ९४६ मत पाएका थिए।
पौडेलले २०६४ मा माओवादीका भक्ति पाण्डे, २०७० मा डा.बाबुराम भट्टराईलाई पनि यो क्षेत्रमा पराजित गरेका थिए। अहिले यहाँ काँग्रेसबाट गुल्मीका नेता चन्द्र भण्डारीले चुनाव लड्ने चर्चा पनि छ। तर, भण्डारीले औपचारिक रूपमा यही क्षेत्रबाट चुनावी मैदानमा जाने बारेमा बोलेका छैनन्। कांग्रेसकै एक नेताका अनुसार भण्डारी अहिलेको अवस्थामा बुटवल आउने सम्भावना एकदमै कम रहेको छ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका राजु गुरुङ उठ्ने चर्चा पनि उत्तिकै छ। कांग्रेसबाट यसअघिका उम्मेदवार गिरी पनि आकांक्षी रहेको बताइन्छ। रुपन्देही २ मा स्वतन्त्र उम्मेदवारको पनि चर्चा छ। स्वतन्त्रबाट डा. निकोलस भुसाल पनि उम्मेदवार बन्नेगरी सक्रियता बढाएका छन्।
पौडेलले रुपन्देही २ बाट तीनपटक चुनाव जितेपछि जलस्रोत, रक्षा र अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर रूपन्देहीमा विकासको लहर ल्याएर लोकप्रिय नेताको छवि बनाएका छन्। त्यसैले पनि पौडेलसँग चुनाबी मैदानमा को आउला भन्ने धेरैको चासोको बिषय बनेको छ।
२०७४ मा प्रदेशतर्फ एमालेका लिला गिरी र भोजप्रसाद श्रेष्ठ विजयी भएका थिए। यस क्षेत्रमा बुटवल उपमहानगपालिकाका १–१३ नम्बरसम्मका वडा, सैनामैना नगरपालिकाका १–४ नम्बर वडाहरू र तिलोत्तमाका १–६ नम्बर वडा पर्छन्।
प्रत्यक्षमा आउने तयारीमा गृहमन्त्री खाण
रूपन्देहीको क्षेत्र नम्बर ३ मा पनि पुरानै अनुहारको चर्चा छ। यो गृहमन्त्री बालकृष्ण खाण, एमाले नेता घनश्याम भुसाल र राप्रपाका नेता दीपक बोहोराको क्षेत्र हो। २०७४ मा राप्रपाका नेता बोहोरा र एमाले नेता भुसालबीच प्रतिस्पर्धा हुँदा भुसालले फराकिलो मतान्तरले जितेका थिए। भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए। त्यतिबेला यहाँ नेपाली कांग्रेस र राप्रपाबीच तालमेल भएको थियो। २०७० सालमा भने, खाणले भुसाललाई ८२ मतले पराजित गरेका थिए। यस क्षेत्रबाट २०६४ सालमा पनि खाण नै वियजी भएका थिए।
गत निर्वाचनमा पराजित हुने डरले समानुपातिकमा बसेका गृहमन्त्री खाण यसपटक प्रत्यक्ष निर्वाचन लड्ने गृहकार्यसहित जिल्ला धाइरहेका छन्। अहिले यहाँ काङ्ग्रेसबाट खाण, एमालेबाट भुसाल र तिलोत्तमाका निवर्तमान मेयर बासुदेव घिमिरेको चर्चा छ।
बोहरा पनि यहि क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा रहेको बताइन्छ। भने, सामाजिक अभियन्ता एवम् अधिवक्ता प्रख्यात बन्जाडेले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।
२०७४ मा प्रदेशतर्फ एमालेका तुलसी चौधरी र जसपाका सन्तोषकुमार पाण्डेय निर्वाचित भएका थिए। यस क्षेत्रमा बुटवलका वडा नम्बर १४–१९, मायादेवी गाउँपालिकाका ७ र ८, ओमसतिया गाउँपालिकाको २ नम्बर वडा, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाका १३ र १४ नम्बर वडा पर्छन्।
दल फरक : प्रतिस्पर्धा पुरानै
रूपन्देहीको क्षेत्र नम्बर ४ मा पनि पुरानै अनुहार दोहोरिने सम्भावना बढेको छ। यो क्षेत्र मधेश बाहुल्य क्षेत्रसमेत हो। २०७४ मा यहाँ कांग्रेसका प्रमोद यादव निर्वाचित भएका थिए। यादवले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार सर्वेन्द्रनाथ शुक्लालाई पराजित गर्दै जीत निकालेका थिए। भने, एमालेका ओमप्रकाश यादव तेस्रो भएका थिए। अहिले पनि यादव र शुक्ला नै उम्मेदवार बन्ने चर्चा छ। अहिले शुक्ला लोकतान्त्रिक समाजवादी पार्टीमा छन्।
स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा लोसपा बलियो देखिएको छ। २०७४ मा प्रदेशतर्फ कांग्रेसका अष्टभुजा पाठक र बसिउद्दिन खानले जितेका थिए। यस क्षेत्रमा सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र कोटहीमाई गाउँपालिका तथा मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडा पर्छन्।
शाहको निरन्तरता, एमालेबाट दुई जनाको दाबी
रुपन्देहीको क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेस नेता भरतकुमार शाहले लगातार चुनाब जितेको क्षेत्र हो। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिसमेत रहेका उनलाई कांग्रेसले अहिले पनि टिकट दिने निश्चित जस्तै छ। २०७४ मा शाहले ३३ हजार ८८ मत ल्याएर विजयी हुँदा माओवादीका डिलराम आचार्यले २० हजार ४३८ मत पाएका थिए। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि यो क्षेत्रबाट माओवादीका आचार्य उम्मेदवार बनेका थिए।
अहिले एमालेबाट राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईको पनि उम्मेदवार बन्ने चर्चा छ। भट्टराई निरन्तर यस क्षेत्रमा सक्रिय देखिएका छन्। त्यस्तै प्रदेशसभा सदस्यसमेत रहेका एमाले केन्द्रिय सदस्य भूमिश्वर ढकाल पनि आकांक्षी भएको एमाले कार्यकर्ताहरु बताउँछन्। हालै सम्पन्न स्थानीय तह निर्वाचनमा यहाँ एमाले र कांग्रेसले बराबरजस्तै जित निकालेका छन्। २०७४ मा प्रदेशतर्फ एमालेका भूमिश्वर ढकाल र कांग्रेसका फकरुद्धिन खान विजयी भएका थिए।
यस क्षेत्रमा सैनामैना नगरपालिकाका वडा नम्बर ५–११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १–११, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्छन्।