PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

चियाबारे झलनाथको संसदमा धाराप्रवाह, प्रधानमन्त्री देउवासँग ‘टि टक’ : किन लिइरहेका छन् चिन्ता?



प्रकाश भण्डारी

चियाबारे झलनाथको संसदमा धाराप्रवाह, प्रधानमन्त्री देउवासँग ‘टि टक’ : किन लिइरहेका छन् चिन्ता?

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पछिल्लो समय नेपाली चिया बजारका बारेमा चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधि सभाको साउन ५ गतेको बैठकमा विशेष समय लिएर डेढ घण्टा चियाबारे भाषण गरेका खनालले मंगलवार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गराए।

पूर्वका चिया व्यवसायीको प्रतिनिधि मण्डलका साथ चियाको बजारबारे ज्ञापनपत्र बुझाएर खनालले प्रधानमन्त्री देउवालाई चियाको बजारबारे गम्भीर हुन आग्रह गरेका हुन्। 

संसदमा खनालले आफू इलामको जनप्रतिनिधि भययता चिया रोपणको अभियान नै चलाएको बताएका थिए। ‘इलामको क्षेत्र नम्बर १ मा त व्यापक अभियान नै चलाए। त्यो अभियान चलाएपछि अहिले धेरै किसानले चिया रोपण गर्ने काम गर्नु भएको छ,’खनालले भने। 

इलामको चिया देशव्यापी भइरहेको भए पनि सरकारले भने नीतिगत रुपमा बेवास्ता गरेको खनालले आरोप लगाएका थिए। ‘नीति तथा कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान चियामा जालाकि भन्ने मैले सोचेको थिए। तर,नीति तथा कार्यक्रम चियाका बारेमा कतै उच्चारण हुन सकेन। अर्थमन्त्रीबाट बजेटमा त आउछ होला कृषि उपजका रुपमा रहेको छ उहाँको बाट त आउला भन्ने थियो। तर,कतै उल्लेख छैन,’ खनालले भनेका थिए।   

चियाबारे खनालको धाराप्रवाह

संसदमा खनालले चियाको उत्पतिदेखि हालसम्मको अवस्थाबारे बोलेका थिए। उनले नेपालमा राणाकालमा चियाको विकास भएको बताएका छन्। ‘भारतमा हजारौं हजार चिया बगानहरु विकास भएका छन्। चीन त उत्पादन थलो नै हो। भारत र चीन चिया उत्पादका टाइगरको रुपमा छन्। नेपालमा पनि चिया क्रमिक रुपमा अगाडि आयो। जंगबहादुरका ज्वाइ कर्णेल गजराजसिंह थापा दार्जिलिङमा गएपछि अर्थोडक्स चिया देखेपछि ओहो यो त इलाममा पनि हुँदो हो भनेपछि इलाममा पनि चियाको सुरुवात भयो,’ खनालले भने। 

खनालले अर्थोडक्स चिया पिउनुपर्ने बानी बसाल्नुपर्ने भए पनि नेपालीको अर्थोडक्स चिया पिउने बानी त्यति नभएको संसदमा बताएका थिए। ‘पिउनुपर्ने भनेको अर्थोडक्स चिया हो। नेपालमा सिटिसी चिया र अर्थोडक्स चिया उत्पादन भइरहेको छ। त्यसका लागि स्याहर सम्भार राज्यले भूमिका खेल्नुपर्ने हो त्यो भएको छैन,’ खनालले भने। 

‘तु अक्सन सेण्टर बनाउनपर्छ’

नेपालको चियाको बजार संकुचित हुन थालेकोमा चिन्ता व्यक्त गरिरहेका खनालले नेपालको मुख्य बजार भारत भएको र त्यो संकटमा पर्न थालेको तर्क गरेका छन्। नेपालमा हालसम्म चियाको अक्सन सेण्टर नभएको भन्दै तत्काल अक्सन सेण्टर बनाउन माग गरे। ‘अर्थोडक्स युरोप अमेरिकामा पनि अलिअलि पठाउन सक्ने सम्भावना छ। व्यवस्थित रुपले हामीले बजार खोज्न सकिरहेका छैन। राज्यले भूमिका नखेल्ने हो भने किसानहरुले बजारसम्म पहुँच राख्न सक्दैनन्। बजार नखोज्ने हो भने भोलि हाम्रा किसानहरु चिया उखेलेर फ्याक्ने अवस्थामा नपुग्लान भन्न सकिदैन,’खनालले भने। 

खनालले नेपालको अर्थोडक्स चिया विश्वमै एक नम्बर भएको दाबी गरेका छन्। ‘संसारमा जति पनि अर्थोडक्स चिया उत्पादन हुन्छ त्यसमध्ये नेपालको नम्बर वान हो। त्यसैले सबैभन्दा धेरै मुल्य पाउन सक्छ। हामीले ब्राण्डिङ गर्न सकेनौं। हामीले अहिले सम्मन पनि टि अक्सन सेण्टर बनाउन सकेका छैनौं। अक्सन सेण्टर तु नेपालमा बनाउन पर्‍यो,’ खनालले भने। 

बालुवाटारमा चिया कस्तो रह्यो देउवा - खनाल चिया गफ?

खनालले नेपालको चियाको बजार भारत भए पनि त्यो संकटमा पर्न सक्ने देउवालाई बताएका थिए। भारतमा संसदीय टोली बनाएर उक्त टोलीले सरकारलाई नेपालको चिया विषादीयुक्त र गुणस्तरहीन भएको प्रतिवेदन दिएकाले नेपाली चिया निर्यातमा समस्या उत्पन्न हुनसक्ने भन्दै देउवाको ध्यानकर्षण गराएका थिए खनालले। 

‘पहिलादेखि भारतले हामीलाई निर्यातमा अलिकति सहुलियत पनि दिएको हो। तर भारतमा अहिले ३१ जनाको संसदीय टोली बनाएर अध्ययन गरेका छन्। त्यो समितिमा अनेक खालका रिपोर्टिङहरु भए। नेपालको चिया गुणस्तरहीन छ। विषादियुक्त छ भनेर भने उनीहरुले,’ उनले भने। उक्त समितिले दिएको रिपोर्ट भारत सरकारले कार्यन्वयन गरे भने समस्या उत्पन्न हुने खनालको भनाइ छ।

‘भारत सरकारले इनिसियसन लिइसकेको छैन तर लिने सम्भावना बढ्यो। यो निर्णय गरेर उनीहरुले नेपालको चिया नलिने कुरा गरे भने नेपालको त झण्डै एक लाख मान्छे संलग्न छन्। तिनलाई ठुलो असर पर्छ,’ खनालले भने। अहिले नेपालले वार्षिक ४ अर्बभन्दा बढी विदेशी मुद्रा चिया बेचेर भित्र्याइरहेको खनालको भनाइ छ। खनाललाई प्रधनमन्त्री देउवाले आफूले तत्काल भारतीय पक्षसँग कुरा गर्ने आश्वासन दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell