भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएका छन्। योसँगै उनले नयाँ सरकार गठनका लागि १६० सदस्यहरुको समर्थनसहितको पत्रसमेत बनाएका छन्।
आजै नितिशले भाजपासँग गठबन्धन तोडेका थिए। त्यसलगत्तै उनले जनता दल युनाइटेडका सदस्यहरुसँग छलफल गरेका थिए। आफ्ना पार्टीका सांसदहरुले उनको निर्णयमा समर्थन गरेपछि उनले राजीनामा दिएका हुन्।
भाजपा नेता तथा संघीय गृहमन्त्री अमित शाह आफ्नो पार्टी फुटाउन लागि परेको आरोप नितिशले लगाएका छन्। उनले आफ्नो पार्टीका नेता आरसीपी सिंहलाई अमित शाहको कठपुतली बनेको आरोपसमेत लगाएका छन्। भ्रष्टाचारको आरोप लागेपछि सिंहले जेडीयुबाट राजीनामा दिएका थिए।
नितिशकुमार राजभवनामा पुगेर राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्। उनीसँगै विपक्षी नेता राष्ट्रिय जनता दल (आरजेडी)का तेजश्वी यादवसँगै साथमा पुगेका थिए।
समाचार अनुसार नितिशकुमारले आरजेडीका नेता तेजश्वी आफै उपमुख्यमन्त्री बन्ने बताइएको छ। नयाँ क्याबिनेटमा तेजप्रताप यादव पनि मन्त्री हुने दाबी एनडीटीभीले जनाएको छ।
२०२० को निर्वाचनमा आरजेडी एकल ठूलो दल बनेको थियो। आरजेडीले ७५ सिट हात पारेको थियो। उसको गठबन्धनबाट ११० सिट थियो। त्यस्तै यो गठबन्धनबाट कंग्रेसले १९, कम्युनिस्ट पार्टीले १६ सिट हात पारेका थिए।
अर्कोतिर एनडीए गठबन्धनले १२५ सिट जित हात पारेको थियो। जसमध्ये बीजेपीको ७४ थियो। नितिशकुमारको जेडीयुको ४३ थियो। चुनावी अभियानका क्रममा नितिशकुमारलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेर बिजेपी चुनाव लडेको थियो।
सरकार गठनका लागि २४३ सिटको बहुमत १२२ आवश्यक पर्छ। हाल विहार विधानसभामा कायम रहेको २४२ सिटमध्ये बीजेपीसँग ७७ सिट छ। त्यस्तै जेडीयुसँग ४५, आरजेडीसँग ७९, कंग्रेससँग १९सहित कम्युनिस्ट दलसँग १६ सिट छ। आरजेडी र जेडीयु मिले सहज रुपमा बहुमतसहित सरकार गठन हुन सक्छ।
राजीनामा दिएसँगै उनले भनेका छन्, 'मैले राजीनामा दिएँ। हामीले एनडीएसँगको गठबन्धन तोड्यौँ। हाम्रा सबै एमपी र एमएलएहरुले एनडीए छाड्न चाहे।'
यता कंग्रेसले विहारमा बीजेपी मुक्त कुनै पनि सरकारलाई सहयोग गर्ने बताएको छ।