![वाग्मती प्रदेश सरकारले ल्यायो दुई वटा अध्यादेश, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय](https://pahilopost.com/assets/upload/contentthumb/Bagmati-Government.jpg)
हेटौँडा : वाग्मती प्रदेशको मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले २ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्ने निर्णय गरेको हो।
प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षमा बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।
त्यस्तै, बैठकले हेटौँडा-१७ हटियास्थित मकवानपुर बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा रहेको कित्ता नम्बर १८३ को जग्गा प्रदेश सरकारको संरचना निर्माणको लागि भोगाधिकार माग गर्दै संघीय सरकारसमक्ष पठाउने निर्णय गरेको मन्त्री खनालले बताए। प्रदेश सरकारले यसअघि हेटौँडामा ७ वटा जग्गा भोगाधिकार माग गर्दै संघीय सरकार समक्ष पठाइसकेको छ भने त्यसउपर हालसम्म कुनै निर्णय आउन सकेको छैन।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार मातहतमा कार्यारत करारका कर्मचारीहरुलाई मासिक २ हजार रुपैयाँका दरले महँगी भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। यसैगरी, बैठकले गत आर्थिक वर्षमा काम भएको र असार मसान्तमा लेखाको सिस्टम सर्भर डाउन भएर भुक्तानी हुन बाँकी रहेको करिब ३ अर्ब रुपैयाँ रकमको यकीन विवरण निकालेर भुक्तानी प्रकृयामा अघि बढाउने निर्णय गरेको छ।