PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डुबान: जडीबुटीबाट ३ सय जनाको उद्धार, के के भयो क्षति?



पहिलोपोस्ट

अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डुबान: जडीबुटीबाट ३ सय जनाको उद्धार, के के भयो क्षति?

काठमाडौं : मङ्गलवार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाभित्र केही क्षेत्र डुबानमा परेका छन्। मनोहरा खोला आसपासको क्षेत्र सबैभन्दा धेरै डुबानमा पर्नुका साथै तटीय क्षेत्रमा कटान समेत भएको छ। डुबानका कारण घरहरूमा जलमग्न भएका छन्।

डुबान तथा कटानबाट पुल, बिजुलीको खम्बा, टहरा तथा सवारी साधन समेत बगाएको छ। कागेश्वरी मनोहरा नगरपालिका स्थित मनोहरा खोलामा रहेको एउटा हाई टेन्सन तारको खम्बा समेत ढलेको कारण विद्युत् अवरुद्ध भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौंरले जानकारी दिए। त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ स्थित नरेफाँटतिर जाने पुलमा समेत बाढीले असर पुर्‍याएका पुलबाट आवत जावत बन्द गरिएको छ।

मनोहरा खोला सुकुम्वासी बस्ती पस्दा डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ। मध्यपुरथिमि नगरपालिका-१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको छ। प्रभावितहरूको उद्धारमा रातिदेखिन नै प्रहरी र स्थानीय खटेको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए।

मध्यराति बाढी आउँदा ज्यान जोगाउन मानिसहरुको भागाभाग भएको स्थानीयले बताए। कोही भागेर अरनिको राजमार्गको सडकमा आइपुगेका थिए भने कोही भने घरको छतमा बसेका थिए। प्रहरीले मंगलबार रातिदेखि जडीबुटीबाट मात्र ३ सय जनाको उद्धार गरेको जानकारी दिएको छ। अहिले उनीहरुलाई कोटेश्वर बहुमुखी क्याम्पसमा राखिएको एसपी राठौंरले बताए। त्यस्तै साँखबाट १७ जना, पेस्सीकोलाबाट १५ जनाको उद्धार गरिएको छ।

अविरल वर्षाका कारण काठमाडौंको काँडाघारीमा रहेको प्रहरी प्रभागमा पनि क्षति पुगेको छ। प्रहरी कार्यालयमा मनोहरा खोलाको बाढीले ३ वटा मोटरसाइकल बगाएको छ। बगाएका मध्ये दुई वटा फेला परेका छन्। त्यस्तै प्रभागको पर्खाल समेत बाढीले भत्काएको छ।

त्यस्तै प्रहरीको खाना खाने ठाउँ टहराको (मेस) पनि बगाएको छ। कार्यालयको पहिलो तला डुबान भएको छ।

सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, यहाँका कुखुरा र बङ्गुर बगाएको छ। बालबालिका र ज्येष्ठ नागरिक बढी मारमा परेको बताउँदै उनले भने, ‘यहाँकोअवस्था बिजोग छ, पानी पर्नेबित्तिकै बस्तीको बासिन्दा त्रासमा बस्नुपर्ने, सुकुम्वासी बस्तीको समस्या समाधानमा सरकारले चासो दिनुपर्ने आवश्यकता देखियो।’

 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मध्यपुरथिमि नगरपालिका-१ र २ का मनोहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण संकलन कार्य भइरहेको बताए। उनले बस्तीमा लत्ताकपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपाया बगाएको तर मानवीय क्षति भने नभएको बताए।

त्यस्तै मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० घरटहरामा पानी पसेको जानकारी दिए।

अरु पनि भयो क्षति ?

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ मनहरा खोला निलोपुल नजिक जिल्ला बंगुर फर्म संचालन गर्ने हरी राईको बंगुर फर्मबाट खोलाले ४ वटा बंगुर बगाएको प्रहरीले जनाएको छ। यस्तै, सोही नगरपालिकाको वडा नं. १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेको छ। एउटा टहरामा बस्दै आएका ४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

मध्यपुर थिमि नगरपालिका वडा नं. २ मनोहरा खोला किनारमा रहेको दिब्यश्वरी प्लानिङ नजिकै रहेको अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएको छ। सो फर्ममा रहेका ५०० वटा हाँस , २०० वटा बंगुर र २ वटा गाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ। थिमिकै वडा नं. १ मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरेको छ। माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको छ।

यस्तै, थिमी नगरपालिका वडा नं. २ सानोठिमी मनोहरा खोला किनारमा रहेको दिब्यश्वरी प्लानिङस्थित टहरामा बसोबास गर्दै आएका पेमा तामाङको टहरामा पनि पानी पसेको छ। सो स्थानबाट २६ बोरा चामलमा पानी पसी क्षति भएको र कुखुराको ४५ वटा चल्ला बगाएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell