PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

स्थानीय तह निर्वाचनपछि सुदूरपश्चिममा थपिए ३५ हजार मतदाता



रासस

स्थानीय तह निर्वाचनपछि सुदूरपश्चिममा थपिए ३५ हजार मतदाता
फाइल फोटो।

महेन्द्रनगर : स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशमा ३५ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन्। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तह निर्वाचन २०७९ सालको निवार्चनमा यहाँका नौवटै जिल्लामा गरी १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जिल्लाबाट संकलन भएर आएका नामावली रुजु गरेपछि निर्वाचन आयोगमा पठाउने जानकारी दिए। उनका अनुसार नयाँ थपिनेमा सबैभन्दा बढी कैलालीमा ११ हजार चार सय ३० मतदाता थपिएका छन्।

त्यसैगरी, कञ्चनपुरमा ९ हजार आठ सय २८, अछाममा चार हजार ८० मतदाता थपिएका छन्। यस्तै, यहाँको पहाडी जिल्ला बाजुरामा एक हजार तीन सय ६४, दार्चुलामा एक हजार ६ सय ६४, बैतडीमा दुई हजार आठ सय ६, डडेल्धुरामा दुई हजार दुई सय ५८, बझाङमा एक हजार ६ सय ५९ र डोटीमा दुई हजार एक सय ७२ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

‘नयाँ आएका नामावलीहरुको साताभित्र आयोगमा पठाइसक्ने र भदौको अन्तिममा अन्तिम नामावली प्रकाशित आयोगबाट हुन्छ’, प्रदेश कार्यालय प्रमुख भट्टले भने, ‘स्थानीय तहको निर्वाचनपछि आयोगले नै छुटेका मतदाताहरुको नामावली संकलन मुलुकभर थालेको थियो।’

यस पटक अन्तिम नामावलीमा समावेश भएकाहरुले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका मतदान गर्न पाउनेछन्। २७ लाखभन्दा बढी जनसंख्या रहेको सुदूरपश्चिममा ८८ वटै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell