- फूलमान तामाङ-
चौतारा : सरकारले आगामी मंसिर ४ को लागि संघ र प्रदेशको निर्वाचन तोकेसँगै ४ वटा प्रदेशसभा र २ क्षेत्र रहेको सिन्धुपाल्चोकमा माहोल तातिँदैछ। सत्ता गठबन्धन दलले निर्वाचनमा तालमेल गरेर जाने सहमति गरे पनि त्यसको मोडालिटी के हो? अझै तय भएको छैन। जसकारण गठबन्धनलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उम्मेदवार चयन गर्नै हम्मेहम्मे हुने देखिएको छ।
क्षेत्र नम्बर १ सभामुख अग्निप्रसाद सापकोटा र नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको क्षेत्र हो।
सभामुख सापकोटाले गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्दै काङ्ग्रेसका बस्नेतलाई पराजित गरी निर्वाचित भएका थिए। त्यसबेला वाम गठबन्धनबाट जित निकालेका सापकोटा अहिले यो क्षेत्र छाड्ने पक्षमा छैनन्। यस क्षेत्रमा पर्ने प्रदेशसभाको सिटमा पनि वाम गठबन्धनले क्लिन स्विप गरेको थियो। प्रदेशसभामा सरेश नेपाल र अरुण नेपाल निर्वाचित भएका थिए।
यो निर्वाचनमा भने त्यो बेलाको हारको बदला लिन काङ्ग्रेसका मोहन बस्नेत पूर्ण तयारीका आफ्नो क्षेत्रमा सक्रिय भएर खटेका छन्। कोरोना भाइरसको संक्रमण फैलिरहँदा होस् या बाढीपहिरो जाँदा, उद्धार तथा पीडितलाई राहत वितरणमा बस्नेत सक्रिय थिए। अग्निविरुद्ध नै निर्वाचनमा उत्रने उद्घोषका साथ तयारी अवस्थामा रहेका बस्नेतलाई केन्द्रमै तालमेल हुने भएपछि धक्का पुगेको छ। यद्यपि, उनी यो क्षेत्र आफूले नै पाउनुपर्ने 'लबिङ'मा उनी जुटेका छन्।
मनान्तरको असर
यसअघि २०७४ सालको चुनावमा सापकोटाले बस्नेतलाई फराकिलो मत अन्तरले हराएका थिए। सापकोटा नेकपा (एमाले) र माओवादी केन्द्रबिच गठबन्धनबाट उम्मेदवार भएका थिए। सापकोटा ४० हजार ५०४ मत ल्याएर निर्वाचित हुँदा बस्नेतले २९ हजार ७ सय ९८ मत ल्याएर पराजित भएका थिए। सापकोटा र बस्नेतको मत अन्तर १० हजार ७१० थियो।
मतान्तरलाई देखाउँदै बस्नेतलाई पार्टीले टिकट नदिन सक्ने क्षेत्र नम्बर १ कै एक काङ्ग्रेस नेताको तर्क छ। यस्तो भएमा बस्नेतलाई समानुपातिकमा राख्न सकिने ती नेताको दाबी छ।
यता सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासिलो पात्र हुन्। माओवादी केन्द्रबाट सापकोटा यस क्षेत्रमा निर्विकल्प उम्मेदवार हुन्।
गठबन्धन हुँदा टिकट कसले हत्याउने हो त्यो तालमेल कार्यदलबाट टुंगो लाग्ला। यता एमालेले पनि यस क्षेत्रमा कसलाई उम्मेदवार बनाउने हो भन्ने विषयमा कुनै टुंगो लगाएको छैन।
स्थानीय निर्वाचनमा काङ्ग्रेस बलियो
सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये क्षेत्र नम्बर १ मा बाह्रबीसे नगरपालिकासहित ७ पालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको ६ वटा वडा रहेका छन्। काङ्ग्रेस एक्लैले बाह्रबिसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा प्रमुख/उपप्रमुख जितेको छ। सुनकोशी र बलेफीमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको छ कांग्रेसले। जुगलमा भने माओवादी केन्द्रसँगको सहकार्यमा उपाध्यक्ष जितेको छ।
कमजोर रहेको भनिएको चौतारा साँगाचोकगढी नगरपालिकामा समेत दुई वडामा काङ्ग्रेसले जित हासिल गरेको छ। स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्ने हो भने काङ्ग्रेस प्रष्ट रुपमा अगाडि छ।
क्षेत्र नम्बर १ को ५३ वडामध्ये काङ्ग्रेसले ३२, एमालेले १६ र माओवादी केन्द्रले ५ वटामा जितेका छन्। वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ। त्यस्तै, राप्रपाको २ हजार र नेकपा (एकीकृत समाजवादी)को १६५० मत छ।
संघमा मात्रै होइन दुवै प्रदेशसभा क्षेत्रमासमेत काङ्ग्रेस अगाडि नै छ। मत परिणाम हेर्दा आफूले जित्ने र गठबन्धन हुँदा माओवादीलाई छाड्नुपर्ने भएपछि बस्नेतले अन्य जिल्लामा गठबन्धन भए पनि सिन्धुपाल्चोकमा कम्युनिस्टसँग गठबन्धन नगर्ने अभिव्यक्ति दिएका छन्।
कसले पाउँला क्षेत्र २ को टिकट?
सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ काङ्ग्रेसले माया मार्दै आएको क्षेत्र हो। यसअघिको निर्वाचनमा काङ्ग्रेसले यो क्षेत्र पशुपति शम्शेर राणालाई छाडेको थियो। राप्रपा कमजोर भइसकेको र ‘आउटडेटेड’ उम्मेदवारलाई काङ्ग्रेसले काखमा लिँदा यो क्षेत्रमा एमालेका शेरबहादुर तामाङले सजिलै जित हासिल गरेको थियो।
यसपटक यो क्षेत्रमा गठबन्धनले कसलाई उम्मेदवार बनाउँला भन्ने कुनै तय भएको छैन। कतिपयले क्षेत्र नम्बर १ अग्निलाई छाडेमा मोहनलाई २ नम्बरमा पठाउने वा १ मोहनलाई छाडे २ मा अग्निलाई पठाउने चर्चा पनि चलेको छ। यद्यपि, यो विषयमा दुवै पक्षका नेताहरुले असहमति जनाइरहेका छन्।
स्थानीय निर्वाचनमा २०७९ मा वडाध्यक्षले पाएको मतको आधारमा क्षेत्र २ मा एमालेको ३१ हजार ७७६, कांग्रेसको २९ हजार ३०२, माओवादीको १६ हजार ७९, राप्रपाको ५ हजार ९३२, एकीकृत समाजवादीको १६६३ मत रहेको छ। यसपाली यो क्षेत्र काङ्ग्रेसलाई नै दिने चर्चा गठबन्धनभित्र छ।
यो क्षेत्रमा काङ्ग्रेस कहिले पनि जित निकाल्न सकेको छैन। त्यही भएर पनि गठबन्धनको आडमा जसरी पनि काङ्ग्रेसबाट उम्मेदवार बनाएर जिताउने तयारीमा काङ्ग्रेस नेता कार्यकर्ता जुटेका छन्। काङ्ग्रेसबाट पूर्व मन्त्री विष्णुविक्रम थापा, पूर्व सभापति विकास लामा, वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाको नाम चर्चामा छ। संस्थापन पक्षबाट थापा र मन्त्री लामाको नाम चलिरहेको छ भने संस्थापनइतरबाट पूर्व सभापति लामा चर्चामा छन्।
अघिल्लो निर्वाचनमा बाम गठबन्धनको ‘क्लिन स्विप’ रोकेर यस क्षेत्रको प्रदेश ‘ख’मा काङ्ग्रेसबाट निमा लामा निर्वाचित भएका थिए। यसैले पनि मन्त्री लामाले टिकट पाउने सम्भावना बलियो देखिन्छ।
यता, पूर्व मन्त्री थापा संस्थापन पक्षकै भए पनि संस्थापनइतरको पनि उनीप्रति सद्भाव रहेको बताइन्छ। गठबन्धनले यस क्षेत्रमा काङ्ग्रेसलाई भाग दिएमा यी तीनमध्ये एकले टिकट पाउने बताइन्छ।
वाग्मती प्रदेशका पूर्व मन्त्री युवराज दुलालले समेत गठबन्धनबाट यस क्षेत्रमा टिकट दाबी गरेका छन्। राप्रपाले गठबन्धनसँग तालमेल गरे पशुपति शम्शेर पुत्री देवयानी राणालेसमेत यो क्षेत्रबाट टिकट हत्याउने दाउ गरेकी छिन्। गत निर्वाचनमा देवयाणी आफ्नो बुवाको चुनावी अभियानमा सक्रिय बनेकी थिइन्। एमालेबाट भने पूर्व मन्त्री शेरबहादुर तामाङ नै पुनः फिल्डमा उत्रने चर्चा रहेको छ। उनी यसपटक यो क्षेत्रबाट ह्याट्रिक गर्ने दाउमा छन्।