काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदबाट पारित नागरिकता संशोधन विधेयक राष्ट्रपतिले नरोक्ने बताएका छन्। 'राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लाग्छ,' जापान भ्रमणबाट फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा भने।
प्रचण्डले गठबन्धनले सिटको बाँडफाँट छिट्टै टुंग्याउनेसमेत बताए।
यसैबीच उनले जापान भ्रमण फलदायी भएको बताए। पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले त्यहाँ रहँदा जापानी अधिकारीसँग भएको भेटमा नेपालमा प्रविधि, फोहोर व्यवस्थापन, कृषि तथा जलविद्युत क्षेत्रमा लगानीका लागि आह्वान गरेको बताए।
उनले त्यहाँ भ्रमणका क्रममा जापानी सत्तारुढ दलका वरिष्ठ नेतालाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिए।
अध्यक्ष प्रचण्डले भ्रमण सफल भएको उल्लेख गर्दै दूतावासले पूर्ण सफल बनाउन सहयोग गरेको बताए। भ्रमणको अन्तिम दिन थप उत्साहपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै त्यहाँका विज्ञ, वैज्ञानिकहरुको सहभागितामा आफ्नो सम्मानममा कार्यक्रम भएको उनको भनाई रह्यो।
उनले भ्रमणले दुई देशको सम्बन्धका विषयमा छलफल भएको बताए। 'समग्रमा जाने बेलामा के होला कसो होला भन्ने थियो,' उनले भने, 'यो मेरो भ्रमण पहिलो थियो। समग्रमा राम्रो भयो।'
त्यहाँ भएको कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी भएको बताए।