PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रतिनिधि सभा निर्वाचनमा काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीले कति पाउँदैछन् सिट? एमालेको रणनीति यस्तो



प्रकाश भण्डारी

प्रतिनिधि सभा निर्वाचनमा काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीले कति पाउँदैछन् सिट? एमालेको रणनीति यस्तो

काठमाडौं: मंसिर ४ गतेका लागि निर्वाचन तोकिएसँगै सत्ता गठबन्धन टिकट बाँडफाँटको ‘म्याराथन’मा छ। हेभीवेट नेतालाई जोगाएर कसरी टिकट बाँड्ने? सकस अब तालमेलका लागि बनेको कार्यदललाई पर्नेछ।

पाँच दलको शीर्ष नेतालाई चित्त बुझ्नेगरि भागबण्डा गर्नुपर्ने दबाब त गठबन्धनलाई छ नै अर्कोतिर प्रदेशको प्रत्यक्षमा ३३० सिटलाई पनि मिलाउनुपर्ने छ। तालमेल गरेरै एमालेविरुद्ध चुनावी भीडन्तमा उत्रने भएपछि नेताहरुको दौडधुप पनि बढ्ने नै भयो।

साउन २० मा गठन भएको गठबन्धनको टिकट बाँड्ने कार्यदलको पहिलो बैठक - साउन २३ मा बस्यो। संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन्। ११ सदस्यीय कार्यदलले भागबण्डाको मापदण्ड बनाइरहेको छ। साउन १९ गते सरकारले चुनावको घोषणा गरेकै भोलिपल्ट गठबन्धनले कार्यदल बनाएको थियो।

गठबन्धन दलहरु तालमेल गरेर चुनावमा जाने गृहकार्यमा लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावमा होमिने रणनीतिमा छ। अहिलेको गठबन्धनको समीकरणमा फेरबदल नभए चुनावमा पाँच दलीय सत्ता गठबन्धन भर्सेस एमाले हुने छ। गठबन्धनसँग एक्लै चुनावमा लड्दा एमालेका लागि परिणाम प्रतिकूल त हुने नै छ साथै पाँच वर्षअघि पहिलो बनेको एमाले फेरि पनि सत्ताबाहिरै बस्नेपर्ने परिस्थिति उत्पन्न हुनसक्ने एमालेकै नेताहरु बताउँछन्।

चुनावमा एमालेलाई हुने क्षतिलाई कम गर्न वाम र लोकतान्त्रिक दलहरुसँग चुनावी तालमेलका लागि गृहकार्य नभएको होइन। तर, साना दलहरुसँग हुने तालमेलले एमालेको शक्तिलाई खासै फरक नपर्ने भएपछि एमाले एक्लै चुनावी मोर्चामा होमिनुपर्ने दबाबमा छ। अहिले सत्ता गठबन्धनलाई विभाजन गर्न र वाम गठबन्धन गर्न पनि एमालेले होमवर्क गरेको थियो। तर, उक्त रणनीति स्थानीय तह निर्वाचनको अघिजस्तै प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनअघि पनि सफल हुने दिशामा छैन।

हुन त माओवादी र एकीकृत समाजवादीकै नेताहरुले कांग्रेसलाई नै च्यालेन्ज हुनेगरि एमालेसँग तालमेलको लागि दौडधुप नगरेका होइनन्। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नै गठबन्धनका लागि सकारात्मक नभएको माओवादी र एकीकृत समाजवादीका नेताको आरोप छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्टीको पछिल्लो केन्द्रीय कमिटीमा पेश गरेको प्रतिवेदनमा पनि वाम ध्रुवीकरणको चर्चा गरिएको थियो।

एकीकृत समाजवादीभित्र नेता झलनाथ खनालले वाम गठबन्धन गर्नुपर्ने भन्दै कांग्रेससँगको गठबन्धन त्यति फलदायी नभएको बताएका थिए। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि वाम गठबन्धन गरेर अघि बढ्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्। श्रेष्ठले वाम गठबन्धनकै लागि पटकपटक ओलीलाई भेटेका थिए। तर, प्रचण्डले पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा एमालेसँगको सहकार्य तत्कालका लागि सम्भव नभएको बताएपछि अहिले सत्ता गठबन्धनभित्रमात्रै चुनावी तालमेल गर्ने निष्कर्षमा माओवादी केन्द्र छ।

स्थानीय तह निर्वाचनमा एमालेले गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको तालमेल फलदायी भएको थिएन। २०७४ मा जितेको २९४ सिटमध्ये एमालेले २०७९ को स्थानीय तह निर्वाचनमा २०६ सिटमात्रै जित्यो। केही स्थानीय तहमा एमालेले सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै पनि तालमेल गरेको थियो, तालमेल भने उपलब्धिमूलक रहेन। यद्यपि सत्ता गठबन्धनले जस्तो एमालेले गठबन्धन गरेर चुनावमा जाने रणनीति बनाएका थिएन।

सत्तारुढ दलका आ-आफ्ना अडान

स्थानीय तह निर्वाचनमा तालमेल सफल भएको गठबन्धनले निचोड निकालेको थियो। हुनत माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले चुनावी तालमेलबारे असन्तुष्टि व्यक्त नगरेका होइनन्। संसदीय निर्वाचनमा पनि गठबन्धन गरेर जाने पाँच दलबीच सहमति भइसकेको छ। कुन दलले कति सिट पाउँछन् त्यसले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको चुनावपछिको अवस्था पनि देखाउने छ।

प्रत्यक्षमा १६५ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले अहिले १०० सिट आफ्नो पार्टीले पाउनुपर्ने अडान राखिरहेको बताइन्छ। कांग्रेसका संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई फाइदा हुनेगरि मात्रै गठबन्धन गर्नुपर्ने मत केही दिनअघिमात्रै सार्वजनिक गरेका थिए। कोइरालाले कांग्रेसले १०० सिट लिनुपर्ने बताएका छन्। उनको स्वरमा 'होमा हो' गर्ने नेताहरु हुन् वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्रीसमेत रहेका डा शशांक कोइराला।   

बाँकी ६५ सिटलाई ४ दलले भाग लगाउनुपर्ने कांग्रेसका नेताहरुले धारणा राखिरहँदा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने असन्तुष्टि व्यक्त गरिरहेका छन्। एकीकृत समाजवादीका नेता खनालले मापदण्डका आधारमा सिट बाँडिनुपर्ने बताएका छन्। उनले कार्यदलले दिएको मापदण्डका आधारमा चुनावी तालमेल गर्दामात्रै गठबन्धनमा सहमति हुने बताए।

‘कार्यदलले सकारात्मक रुपमा नै काम गरिरहेको छ भन्ने आइरहेको छ। फेरि हामी बस्छौं र यसबारेमा चाँडै टुंगोमा पुगौँ भन्ने नै छ अहिले गठबन्धनमा। विभिन्न आधार तयार पारेरमात्रै टिकट बाँड्न उपयुक्त भन्ने छ हाम्रो धारणा त,’ उनले भने। नेपाली कांग्रेसले १०० सिटमा दाबी गरेको भए पनि ७५-८० सिटमा भाग पाउनेगरि कांग्रेस लचिलो हुन सक्ने देउवा निकट एक नेताले बताए।

'कांग्रेसले यसपटक हदैसम्म लचकता अपनाउनुपर्ने हुन्छ। सबै दललाई गठबन्धनमा अटाउँदा पाउने भनेको ७५ सिट हो,' ती नेताले भने।

माओवादी केन्द्रले ५० सिटमा दाबी गरिरहेको छ। देउवा निकट ती नेताले पनि माओवादीले ५० देखि ५५ सिट पाउने बताए। एकीकृत समाजवादी र जनता समाजवादीले ३०/३० सिटमा दाबी गरिरहेको छन्। यद्यपि अन्य दल गठबन्धनमा भित्र्याएमा एकीकृत समाजवादीले १८ र जसपाले १५ सिटमात्र पाउने बताइएको छ। बाँकी दुई सिट जनमोर्चालाई दिने तयारी रहेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी, बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी, राजेन्द्र लिङ्देनको राप्रपा र वामदेव गौतम गठबन्धनमा आएमा माओवादीले केही सिट छाड्नुपर्ने बताइएको छ। एकीकृत समाजवादीले देउवालाई प्रधानमन्त्री बन्नका लागि अध्यक्ष माधवकुमार नेपालले खेलेको भूमिकालाई नबिर्सिन भन्दै कांग्रेसका नेताहरुलाई सम्झाउने गरेको छ।

माओवादी केन्द्रले आफ्नो पार्टीले २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको भन्दा धेरै ठाउँमा चुनाव जितेको भन्दै आफूलाई दोस्रो दल बन्नेगरि टिकट बाँडफाँट हुनुपर्ने बताइरहेको छ। प्रचण्डले केही समयअघि आफूलाई कांग्रेसले दोस्रो दल हुन नदिए ठिक नहुने चेतावनी दिएका थिए। प्रचण्ड पछिल्लो समय प्रधानमन्त्रीको लागि अघि सरेको भन्ने चर्चा भइरहेको छ। यद्यपि जापान भ्रमणका क्रममा उनले आफू प्रधानमन्त्रीको रेसमा नभएको सन्देश दिन खोजेका थिए। उनले आफू प्रतिनिधि सभामा चितवनबाटै उम्मेदवार हुने पनि बताएका थिए।

'एमालेले जितेका सिट बाँडेर बाँकीमा यथावत'

कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले २०७४ मा दलहरुले जितेको सिटलाई यथावत राख्दै एमालेले जितेको ठाउँमा सिट बाँडफाँट गर्नेगरि मापदण्ड बनाउने तयारी भएको जानकारी दिए।

०७४ मा एमालेले प्रत्यक्षतर्फ ८० सिटमा जित निकालेर पहिलो दल बनेको थियो। कांग्रेसले प्रत्यक्षमा २३ सिटमात्रै जितेको भए पनि समानुपातिकमा ३९ सिट जितेपछि संसदमा दोस्रो ठूलो दल हुन सम्भव भएको थियो। माओवादी केन्द्रले ३६ सिट प्रत्यक्षतर्फ जितेको थियो।

एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि हाल एमालेसँग प्रत्यक्षमा चुनाव जितेका ६८ सांसदमात्रै छन्। १२ जना एकीकृत समाजवादीमा छन्। यस्तै जसपासँग हाल ११ जना सांसद छन् भने जनमोर्चाको एक जनामात्रै प्रतिनिधि सभाको सांसद छन्। ‘गत निर्वाचनमा जितेको पाँच वटा दलहरुले जसको जतिको हो उसलाई दिनुपर्ने हुन्छ। बाँकी रहेका सिटमा एमालेले जितेको थियो त्यो बाँड्नुपर्ने हुन्छ,’ पुरीले भने।

तर, एमालेले चुनाव जितेको ठाउँमा कुन दलले जित्न सक्छ भन्नेबारेमा छलफल गरेर जित्न सक्ने दलका नेतालाई टिकट दिने गठबन्धनले तयारी गरेको हो। त्यसो त गठबन्धनभित्रै स्थानीय तहको नतिजालाई भागबण्डाको बलियो आधार बनाउन नसकिने भन्दै कांग्रेस बाहेकका दलले व्यक्तिको प्रभावलाई पनि आधार मान्नुपर्ने बताइरहेको छ।

शीर्ष नेताहरुलाई जिताउने रणनीति तय गरेर भागबण्डाको मापदण्ड बनाउनुपर्ने एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले केहिदिन अघि पहिलोपोस्टलाई बताएका थिए।

यसअघि स्थानीय तह निर्वाचनमा एमालेले जितेका ठाउँमा सिट बाँडेर अरु ठाउँमा सम्बन्धित दललाई नै दिन मा‌ओवादी र एकीकृत समाजवादीले गठबन्धनमा प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा कांग्रेस सहमत भएन। एकीकृत समाजवादीले एमालेले २०७४ मा चुनाव जितेको ठाउँमा आफ्नो हक लाग्ने त्यतिबेला दाबी गरेको थियो।

गठबन्धनमा बाबुराम, वामदेव र लोसपा थपिए कस्तो होला नतिजा?

गठबन्धनमा सहभागी गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेताहरुसँग छलफल थालिसकेका छन्। लोसपाका नेताहरुसँग पछिल्लो समय गठबन्धनमा सामेल हुने र सरकारमा सहभागी हुनेबारे छलफल गरेको लोसपाका नेता लक्ष्मणलाल कर्णले पहिलोपोस्टलाई बताएका थिए।

यस्तै जसपाबाट अलग भएर नेसपा गठन गरेका बाबुराम भट्टराईले पनि आफू गठबन्धनमै रहेको प्रतिक्रिया दिइरहेका छन्। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा पनि भट्टराईले गोरखाबाट कांग्रेसको सहयोगमा चुनाव जितेका थिए। यस्तै, गठबन्धन गर्ने बारेमा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पनि छलफलमा छन्।

गौतमसँग माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका थिए। उनीहरुका बीचमा गठबन्धनभित्रै उपगठबन्धन बनाउने र समाजवादी केन्द्र बनाएर अघि बढ्ने विषयमा छलफल भएको थियो।

साना दलहरुलाई पनि गठबन्धनमा सामेल गराए अहिलेको सत्ता गठबन्धन ८ दलीय बन्ने छ। साना र नयाँ दलहरुलाई सामेल गराउँदा गठबन्धनमा रहेका दलहरुको मतमा खासै फरक नपरे पनि एमाले एक्लै र विपक्षमा ८ दलीय गठबन्धन हुनेछ। यद्यपि लोसपासँग हाल प्रत्यक्षमा निर्वाचित ९ जना सांसद छन्।

तराईको मतमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँगै महन्थ ठाकुरले पनि प्रभाव राख्छन्। त्यसैले पनि देउवाले पछिल्लो समय लोसपासँगको हिमचिम बढाएका छन्। हुन त गठबन्धनमा लोसपालाई यादवले रोक्न चाहिरहेको चर्चा पनि गठबन्धन दलभित्र भइरहेको छ। यादवले पछिल्लो समय ओलीसँग हिमचिम बढाउन थालेपछि गठबन्धनले पनि लोसपासँग संवाद अघि बढाएका हो। 

एमालेको रणनीति कस्तो?

सत्ता गठबन्धनसँग एक्लै चुनावमा भिड्ने रणनीतिमा रहेको एमालेले ककसलाई कहाँ उम्मेदवार बनाउने भन्नेबारेमा पार्टीमा औपचारिक छलफल गरेको छैन। केन्द्रीय कमिटीको बैठक बोलाएर चुनावी रणनीतिका बारेमा छलफल गर्ने एमालेका तयारी छ।

स्थानीय तहमा जस्तै कुनैकुनै निर्वाचन क्षेत्र विषेशमा भने एमालेले पनि तालमेल गर्ने स्थायी कमिटी सदस्य राजन भट्टराईले जानकारी दिए।'कुनै ठाउँमामात्रै तालमेल हुन सक्छ नत्र एमाले एक्लै चुनावमा लड्छ कसैसँग तालमेल हुने भन्ने छैन्,' भट्टराईले भने।

एमाले सचिव पद्मा अर्यालले अहिले प्रदेशहरुमा प्रशिक्षणका कार्यक्रममार्फत कार्यकर्तालाई चुनावबारे तयार रहन सन्देश दिने काम भइरहेको बताइन्। उनले अरु सबै दल मिलेर चुनावमा गए पनि एमाले आफ्नै सामर्थ्यमा चुनावमा जान तयारी गरिरहेको जानकारी दिएकी छन्।

'सत्ता गठबन्धन आफ्नो तरिकाले अघि बढिरहेको छ। एमाले आजका दिनसम्म कसै पनि पार्टीसँग मिलेर जाने भन्ने कुरा छैन। हामी आफ्नै बलमा चुनावमा जान्छौं,' उनले भनिन्। बिहीबार एमालेको सचिवालय बैठक बोलाइएको छ भने चाँडै केन्द्रीय कमिटीको बैठक बस्ने अर्यालले बताइन्।

एकातिर सत्ता गठबन्धन र अर्कोतिर एमाले एक्लै चुनावमा जाँदा एमालेलाई क्षति हुनेछ। यद्यपि एमालेले सत्ता गठबन्धनबाट असन्तुष्ट हुनेहरुलाई कति आफूसँग तान्न सक्छ त्यसले पनि एमालेको जनमतमा फरक पार्नसक्ने देखिन्छ।

एकीकृत समाजवादीतर्फ लागेका नेता कार्यकर्तालाई ओलीले पार्टीमा फर्कन आह्वान गर्नुको अर्थ पनि आउने चुनावमा एमालेलाई क्षति हुनबाट बचाउनु नै हो। त्यसैले पनि सत्ता गठबन्धन दलहरु एमालेलाई पराजित गर्नेगरि गठबन्धधनमा लागेपछि एमाले पनि थप दबाबमा छ।

सत्ता गठबन्धनलाई पनि पाँच दलभित्रको नेताहरुको आकांक्षा पूरा हुनेगरि टिकट बाँड्न सकस छ। भागबण्डामा असन्तुष्टि व्यापक भए त्यसको चुनावी असरलाई पनि गठबन्धनले ख्याल गरेरै अघि नबढे 'ब्याक फायर' हुने सम्भावना नकार्न सकिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell