PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जो आए ८ महिनामै फर्किए : विवादित प्रशिक्षक प्रभाकर भने जम्ने आशा, क्यानले आफ्नै कान छाम्ने कि?



मुकुन्द घिमिरे

जो आए ८ महिनामै फर्किए : विवादित प्रशिक्षक प्रभाकर भने जम्ने आशा, क्यानले आफ्नै कान छाम्ने कि?

काठमाडौं : नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन्। यसअघिका प्रशिक्षक श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

पछिल्लो समय प्रशिक्षकहरु आउने तर नटिक्ने ‘ट्रेन्ड’ नेपाली क्रिकेटमा बढ्दो छ। त्यसमाथि नेपाली टोलीको निरन्तरको खस्कँदो प्रदर्शन, गुटबन्दी, संघ र खेलाडीबिचको बढ्दो दुरीले राष्ट्रिय टोलीको नयाँ प्रशिक्षकलाई सहज पक्कै हुनेछैन। अनि खेल पूर्वाधार र लगानीको अभावमा प्रशिक्षकलाई नेपालमा टिक्न र खेलस्तर उकास्न त्यतिकै चुनौती छ।

प्रशिक्षक टिक्नै मुस्किल, ८ महिने कार्यकाल

नेपाली राष्ट्रिय टोलीको पछिल्लो ‘ट्रेन्ड’ हेर्दा प्रशिक्षक टिक्नै मुस्किल परेको देखिन्छन्। २०७६ साल जेठ महिनामा राष्ट्रिय टोलीको प्रशिक्षक बनेर आएका उमेश पटवाल ८ महिना नबित्दै फर्किए। नेपालको 'क्रिकेट कल्चर' लाई नै परिवर्तन गर्ने बताएका पटवाल फर्कनुका पछाडि क्यानसँगको करको विवादलाई लिइएको छ। यद्यपि, उनले व्यक्तिगत कारण देखाउँदै विदा लिए।

उनीपछि २०७७ सालको पुस महिनामा नेपाली टोलीको मुख्य प्रशिक्षक बनेर आए डेभ ह्वाटमोर। उनलाई भित्र्याउँदै गर्दा क्यानका तत्कालीन सचिव अशोकनाथ प्याकुरेलले धेरै अफ्ठ्याराबिच उनलाई ल्याएको भन्दै क्रिकेटको स्तर माथि जाने दाबी गरेका थिए।

‘डेभ जतिको स्तरको कोच ल्याउन नेपाललाई त्यति सजिलो थिएन। हिजोको दिनसम्म हामीले जुन किसिमले कोचहरु यहाँ ल्याएर काम गराइरहेका थियौ त्यसको तुलनमा नेपाली क्रिकेटले एउटा छलाङ मार्ने गरि क्यानले कदम अघि बढाएको छ,’ उनले भनेका थिए।  

तर, ह्वाटमोर पनि लामो समय टिक्न सकेनन्। २०७८ को भदौ महिनामा उनले पनि राजीनामा दिए। उनको कार्यकाल पनि ८ महिना भन्दा लामो हुन सकेन। उनले नेपालको राष्ट्रिय टोली छाडेर भारतको रणजी टोली सम्हाल्ने निर्णय गरे।

उनी पछि नेपाली टोलीको नेतृत्व सम्हाले पहिलो कार्यकालमा सफल प्रशिक्षकको पगरी पाएका पुबुदु दासानायकेले। क्यान खेलाडी विवाद, खेलाडीबिचकै गुटबन्दी र कप्तान परिवर्तनको संक्रमणकालीन अवस्थामा आएका दासानायकेको दोस्रो कार्यकाल सफल देखिँदैन। उनले आफूले पारिवारिक कारणले राजीनामा दिए  बताए पनि क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न उनले नेपाली टोली छाडेका थिए। २०७८ सालको मंसिरमा उनको कार्यकाल सुरु भएको थियो। २०७९ सालको साउन महिनामामै उनले राजीनामा दिए। अर्थात उनको कार्यकाल पनि  ८ महिना भन्दा लामो कार्यकाल हुन सकेन।

प्रभाकरको विवादास्पद छवि र आशा

क्रिकेट विश्वकप लिग २ शीर्ष तीनमा नेपालको सम्भावना कमजोर बन्दै जाँदा प्रभाकरबाट क्रिकेटमा ठूलो आशा हुनेछ।

'नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर म नेपाली क्रिकेट टोलीलाई क्रिकेटको बलियो टिम बनाउनका लागि काम गर्न चाहन्छु,' उनको भनाइलाई उदृत गर्दै क्यानले उल्लेख गरेको छ।

ब्याटिङमा सदाबहार देखिएको अस्थिरता चिर्न त उनलाई चुनौती हुनेछ नै व्यक्तिगत रुपमा पनि खस्किएको छवि उनले सुधार्ने अवसर नेपालमा पाउनेछन्।

उनले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय क्रिकेट खेलिसकेका छन्। उनले रणजीका टिमहरुमा मुख्य प्रशिक्षकको भूमिका पनि निभाइसकेका छन् भने अफगानिस्तानमा बलिङ प्रशिक्षकका रुपमा पनि काम गरिसकेका छन्। उनी बलरसँगै टप अर्डरमा समेत समेत ब्याटिङ गरेका ब्याट्सम्यान हुन्।

खेलाडीको रुपमा प्रदर्शन गरेर उनी जति चर्चामा आए म्याच फिक्सिङको प्रकरणमा मुछिएर बदनामी पनि त्यतिकै कमाए। सन् १९९९ भारतीय टोलीका पूर्वकप्तान कपिलदेवमाथि फिक्सिङको आरोप लगाएका उनी पछि आँफैले फिक्सिङको ममलामा प्रतिबन्ध ब्यहोरेका थिए। यसबाहेक पनि कपिलदेव र अजहरुद्दिनसँग झगडा गरेर पनि विवादमा आएका थिए उनी। त्यस्तै दिल्लीको प्रशिक्षक छँदा खेलाडी र छनोटकर्तासँग झगडा गरेपछि उनलाई पदबाट हटाइएको थियो।

टिमलाई मिलाएर लैजाने चुनौती

पुबुदु दासानायकेले राजीनामा घोषणा गर्दैगर्दा आफू नेपालमा आउँदा खेलाडीका बिचमा विभाजन रहेको भए पनि अहिले त्यो ९५ प्रतिशत समाधान भइसकेको दाबी गरेका थिए। बाँकी रहेको पाँच प्रतिशतमा नेपालमा क्रिकेटको अवस्था ठीक नभएको संकेतमात्र दिए उनले। तर, पछि ईएसपीएन क्रिकइन्फोसँगको कुराकानीमा भने यसबारे खुलेरै कुरा गरेका थिए उनले।

सन् २०११ देखि २०१५ को बिचमा अन्तिम पटक नेपाल आउँदा टिमको सोच फरक पाएको भन्दै उनले भने, ' २०११-२०१५ सम्म नेपालमा थिएँ, त्यतिबेला टिममा कुनै समस्या थिएन। तिनीहरू एक टोली थिए र तिनीहरू जित्नमा धेरै केन्द्रित थिए, खेलहरू जित्नको लागि आफ्नो दुई सय प्रतिशत दिए। यसपटक आउँदा मैले यहाँ धेरै साना समूहहरू देखेँ। उनीहरुको सोचाइ बिल्कुलै फरक थियो।'

उनले अगाडि भनेका छन् : उनीहरुको क्रिकेट खेल्नमा ध्यान थिएन। त्यहाँ 'सिस्टम' वरिपरि धेरै अन्य समस्याहरू थिए। त्यो स्पष्ट हुन केही समय लाग्यो।

यसबाहेक उनले खेलाडी र क्यानको विवादले उब्जाएको कठिनाइबारे चर्चा गर्दै ‘टप अर्डर’मा अनुभव नभएका युवा ब्याट्सम्यान हुँदा कठिन भएको बताएका छन्। यद्यपि, नयाँ खेलाडीले पिचमा टिक्न केही समय लिने र समस्याको समाधान हुने उनले बताएका छन्।

दासानायकेले यी कुराहरु जहाँ छाडेका छन्, त्यहीँबाट सुरु गर्न प्रभाकरलाई चुनौती हुनेछ। खेलाडीबिचको वैमनस्यता, क्यानसँगको बढेको दुरीबिच उनले मध्यस्तता गर्दै क्रिकेट अघि बढाउनुपर्नेछ। अझ लिग २ मा अगाडि बढ्न पनि योजनाको आवश्यकता पर्नेछ।

क्यानले पनि कान छाम्ने कि?

पछिल्लो समय क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षकहरुले धोका दिएको बताउँदै आएका छन्। हुन पनि पछिल्ला तीन प्रशिक्षकहरु नेपालमा आठ महिना भन्दा बढी टिक्न सकेका छैनन्।

यता भने प्रशिक्षकलाई मात्र दोष दिनुभन्दा अघि क्यानले कागको पछिमात्र नलागेर आफ्नै कान पनि छाम्न आवश्यक देखिन्छ। पटवालले क्यानसँग करको विषयमा र विदाको विषयमा असमझदारी बढेपछि गएको बताइन्छ। अझ डेभ ह्वाटमोरले त योजना सुनाउन पदाधिकारीसँग भेट्न नपाएको चर्चा त्यतिबेला चलेको थियो। चतुरबहादुर पार्टीको जिल्ला राजनीतिमा व्यस्तहुँदा त्यसको प्रभाव क्रिकेटमा परेको थियो। यसबाट हत्तु भएको डेभ ह्वाटमोरले नेपालका क्रिकेटका पदाधिकारीलाई 'जोकर' भन्ने गरेको त्यतिबेला उनको निकट रहनेहरु बताउँछन्। त्यस्तै दासानायके कुन अवस्थामा नेपाल आएका थिए? खेलाडी दुईतिर अनि बोर्ड अर्कोतिर फर्किएको अवस्थामा आएका दासानायकेले मध्यस्तता गरेर एकहदसम्म माहोल त बनाए तर उनकै शब्दमा ५ प्रतिशत काम बाँकी छ अनि खेलाडीमा जितको भोक बढाउन बोर्डको भूमिका चाहिएको छ। अझ घरेलु क्रिकेटमा नेपाल टी २० लिगको रटान क्यानले लगाइरहँदा खस्कँदो ब्याटिङ सुधार्न लामो फर्म्याटको क्रिकेटको टाढाटाढासम्म चासो देखिँदैन।  यस्तोमा प्रभाकर पनि कति टिक्लान र कसरी टिक्‍लान भन्ने प्रश्न यथावत रहन्छन्। यसको जवाफ 'अर्को धोका' भयो भन्नु भन्दा अगाडि क्यानले कान छाम्न आवश्यक देखिन्छ।

केन्याबाट सुरुवात

प्रभाकरले नेपालको मुख्य प्रशिक्षकको भूमिका केन्या भ्रमणबाट सुरु हुनेछ। नेपालले केन्यासँग पाँचवटा टी २० अन्तर्राष्ट्रिय र तीनवटा एकदिवसीय सिरिज खेल्दैछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले टीममा पुनरागमन गरेका छन्। उनको टिमबाट बहिर्गमनलाई क्यानको ‘इगो’का रुपमा पनि विश्लेषण गरिएको थियो। उनको पुनरागमनसँगै क्यानले सकारात्मक सन्देश भने दिएको पक्कै छ। नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँगको सिरिजका लागि १६ खेलाडीको सूची जारी गरेकोमा मल्लले पनि टिममा स्थान बनाएका हुन्। सन्दीप लामिछाने कप्तानमा नियुक्त भएयता एउटा सिरिजमात्र खेलेका मल्ल त्यसयता टिमबाट बाहिर रहँदै आएका थिए। यसपटकको टिममा कुशल भुर्तेल र बिनोद भण्डारीले भने टिममा स्थान बनाएका छैनन्। त्यस्तै नेपाली टोलीमा पहिलो पटक अर्जुन साउदले स्थान बनाएका छन्।

नेपाली क्रिकेट टोलीले केन्यामा पाँचवटा टी २० इन्टरनेशनल र ३ वटा एकदिवसीय(ओडी) खेल खेल्नेछ। नेपालले अगस्ट २५, २६, २८, २९ र ३० मा टी २० इन्टरनेशनल खेल्नेछ भने सेप्टेम्बर २, ३ र ५ मा एकदिवसीय सिरिज खेल्नेछ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसीर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell