PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

दोस्रो बैठकका लागि जुट्दै गठबन्धनले गठन गरेको कार्यदलका सदस्य,के के विषयमा हुँदैछ छलफल?



पहिलोपोस्ट

दोस्रो बैठकका लागि जुट्दै गठबन्धनले गठन गरेको कार्यदलका सदस्य,के के विषयमा हुँदैछ छलफल?

काठमाडौं : सत्ता गठबन्धनले गठन गरेको टिकट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बिहीवार दिउँसो २ बजेका लागि बैठक बोलाइएको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए। 

‘२ बजेका लागि बैठक बोलाइएको हो। आजको बैठकमा मापदण्डका बारेमा छलफल होला,’उनले भने। साउन २० गते गठन भएको कार्यदलको पहिलो बैठक साउन २३ मा बसेको थियो। 

पहिलो बैठकले संयोजकमा नेपाली कांग्रेसका पूर्व महान्त्री कृष्ण प्रसाद सिटौला चयन गरेको थियो। ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट ३,नेकपा माओवादी केन्द्रबाट २,नेकपा एकीकृत समाजवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी नेपाल जसपाबाट २ र जनमोर्चाबाट २ जना सदस्य छन्। 

कार्यदललाई मापदण्ड बनाएर प्रतिवेदन बुझाउन साउन अन्तिमसम्मको समय सीमा तोकिएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ र प्रदेश सभाको ३३० सिटको बाँडफाँटका लागि कार्यदल मार्फत सत्तारुढ दलहरुले गृहकार्य गरिरहेका हुन्। 

यसअघि स्थानीय तह निर्वाचनमा पनि गठबन्धनले कार्यदल बनाएर सिट बाँडफाँटको मापदण्ड बनाएको थियो। तर,उक्त मापदण्ड अनुसार महानगर र उपमहानगरमा मात्रै गठबन्धन भएको थियो भने बाँकी स्थानीय तहमा स्थानीय संयन्त्रमार्फत गठबन्धन गर्ने निचोड सत्ता गठबन्धनले निकालेको थियो। 

सरकारले प्रदेश तथा प्रतिनिधिसभाको चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने घोषणा गरेको छ। चुनाव घोषणा भए यत्ता सत्तारुढ दलहरु कुन दललाई कति सिट दिने भन्नेबारेमा आन्तरिक तथा गठबन्धनमा छलफलमा छन्। पहिलो बैठकमा आफ्नो दलभित्र छलफल गरेर दलको धारणा सहित दोस्रो बैठकमा बस्ने सहमति भएको थियो। 

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा एमालेले जितेका सिटलाई मात्र भागबण्डा गरेर अरु ठाउँमा सम्बन्धित दललाई नै उम्मेदवार उठाउन दिनुपर्ने प्रस्ताव कार्यदलको बैठकमा माओवादी र एकीकृत समाजवादीका नेताहरुले गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell