PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय नाघ्यो



रासस

चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय नाघ्यो

चितवन : पछिल्ला दिन चितवनमा कोभिड-१९ संक्रमण बढ्दो क्रममा रहेको छ। हाल सक्रिय संक्रमितको संख्या एक सय आठ पुगेको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमितमध्ये ६ जना अस्पतालमा छन् भने एक सय दुई होम-आइसोलेसनमा छन्।

सक्रिय संक्रमितमध्ये ९० जना भरतपुर महानगरपालिका, ७ जना खैरहनी नगरपालिकाका छन्। यस्तै माडी नगरपालिकामा एक, रत्ननगर नगरपालिकामा दुई, राप्ती नगरपालिकामा एक, कालिका नगरपालिकामा एक जना संक्रमित रहेको कार्यालयले जनाएको छ। इच्छाकामना गाउँपालिकामा ६ जना सक्रिय संक्रमित रहेका छन्।

जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार २२ गतेदेखि जिल्लामा संक्रमण देखिएको हो। यही साउनमा एक जनाको संक्रमणका कारण मृत्यु भएको छ।

यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार सय ५० पुगेको कार्यालयको तथ्याङ्कले देखाएको छ। जिल्लामा हालसम्म ३३ हजार आठ सय १४ मा कोरोना पुष्टि भएको छ। ती मध्ये ३३ हजार दुई सय ५६ निको भएर घर फर्किएका छन्।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले कोरोना फैलन सक्ने भएकाले यसबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताए। भीडभाडमा नजाने, नियमित साबुनपानीले हात धुने, मास्कको नियमित प्रयोग गर्ने, सामान्य रुघाखोकी र ज्वरो आएमा चिकित्सकसँग परामर्श लिनुपर्ने उनले सुझाव दिए।

अहिले भरतपुर अस्पतालमा दैनिक आउने एक हजार पाँच सय बिरामीमध्ये पाँच सय मेडिसिन विभागका बिरामी रहने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। उनका अनुसार पाँच सयमध्ये दुई सय बिरामी ज्वरोको छन्। तीमध्ये ५० जनालाई कोरोनाको लक्ष्यण देखिएर परीक्षणका लागि पठाउने गरिएको उनले बताए।

रुघाखोकी, ज्वरो, डेंगु, स्क्रफटाइफसका बिरामी अस्पताल आउन थालेका छन्। कतिपयलाई जापानिज इन्सेफ्लाइटिसको लक्षण देखिएपछि परीक्षणका लागि पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell