PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विष्णु माझीको चरी जेलैमा - २ : दाँजियो बासी खिर र खसीको सुकुटीसँग



पहिलोपोस्ट

विष्णु माझीको चरी जेलैमा - २ : दाँजियो बासी खिर र खसीको सुकुटीसँग

काठमाडौं : विष्णु माझीको नयाँ गीत आएसँगै सांगीतिक बजार गर्माउँछ। चाड पर्व र विभिन्न विषयमा मिठो लय पस्कने कला भएकै कारण विष्णु माझीको स्वर मन पराउने धेरै छन्।

यसपटक तीजको अवसरमा माझीको चरी जेलैमा भाग दुई सार्वजनिक भएको छ। यद्यपि नयाँ स्वादको पर्खाईमा बसेका संगीतका पारखीहरुका लागि भने केही निराश बनाएको छ।

‘पुतलीको भट्टी’ भाग १८ को रूपमा सार्वजनिक भएको यस गीतमा गतवर्ष नै बजार पिटेको ‘चरी जेलैमा’ को अर्को भाग हो। जसमा पुरानै लय छ, फरक गीतका शब्दहरुमात्र।

सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा अघिल्लो वर्षकै मोडल ललिता पौडेलको अभिनय छ।

पुरानै लय र संगीतमा आए पनि गीतलाई धेरैले मन पराएका छन्। सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले भने नयाँ स्वाद खोज्दै असन्तुष्टि पोखेका छन्।

गीत हेरेपछि एक जना प्रयोगकर्ताले युट्युबमा लेखेका छन्, ‘मैले त कस्तो आशा गरेको थिएँ। तर निराशमा परिणत भयो। मात्रै शब्द र दृश्य फरक बाँकी सबै उस्तै छ।’

अर्को प्रयोगकर्ताले गीतलाई बासी खिरसँग तुलना गरेका छन्। 'जनता झुक्याउने (बासी खिर) पस्केछन्। विष्णु दिदीको स्वरको चाहि म शूभचिन्तक नै हो,' ती प्रयोगकर्ताले लेखेका छन्, 'नयाँ पन दिन बरू कतै बिचमा बिष्णु दिदिलाई देखाएको भए गीत कालजयी हुनेथियो होला। हामीलाई यो बासी खिर खाँदा पनि स्वाद नयाँ लाग्ने थियो।'

केही प्रयोगकर्ताले भने यसलाई खसीको सुकुटीसँग तुलना गरेका छन्। 'पोहोर सारै मिठो खसीको मासु खान पाइएको थियो। अहिले त्यै खसीको सुकुटी खाएजस्तो अनुभव भयो। अपेक्षा अर्कै थियो नयाँ स्वाद पाइएन,' ती प्रयोगकर्ताले भनेका छन्, 'गीत जति सुने पनि मीठो लाग्छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई।'

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो लय पोहोर सुनियो अति राम्रो हो तर अहिले नयाँ आउने आश थियो। पुरानो बोतलमा नयाँ झोल भयो, अल्लि मजा आएन। अझै केही समय बाँकी छ पक्कै अर्को आउँछ होला।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell