PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

वैज्ञानिक अनुसन्धानमा चीनले अमेरिकालाई उछिन्यो



पहिलोपोस्ट

वैज्ञानिक अनुसन्धानमा चीनले अमेरिकालाई उछिन्यो
Photo: Xinhua/Rex/Shutterstock

वैज्ञानिक अनुसन्धानमा चीनले अमेरिकालाई उछिनेको छ। जापानको विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार वैज्ञानिक अनुसन्धान नतिजा तथा ‘उच्च प्रभाव’ भएका अध्ययनमा चीनले अमेरिकालाई उछिनेको द गार्डियनले उल्लेख गरेको छ।

जापानको नेशनल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसी (एनआईएसटीपी)ले मंगलवार प्रकाशन गरेको प्रतिवेदनमा चीनले वार्षिक रूपमा सबैभन्दा धेरै वैज्ञानिक शोधपत्रहरू प्रकाशित गर्ने गरेको उल्लेख छ। चीनपछि अमेरिका दोस्रो र जर्मनी तेस्रोमा छन्।

तथ्याङ्कहरू २०१८ र २०२० बिचको वार्षिक औसतमा आधारित छन् जुन विश्लेषण 'फर्म क्लेरिभेट'द्वारा संकलित डाटाबाट मापन गरिएको थियो।

चीनले वार्षिक औसत ४ लाख ७ हजार १८१ वैज्ञानिक शोधपत्रहरू प्रकाशित गरेको छ। जुन विश्वको 'रिसर्च आउटपुट'को २३.४ प्रतिशत हिस्सा हो। त्यस्तै, अमेरिकाले २ लाख ९३ हजार ४३४ जर्नलहरू प्रकाशित गर्ने गरेको छ।

चीनले मेटेरियल साइन्स, रसायन विज्ञान, इन्जिनियरिङ र गणितमा धेरै अनुसन्धान गरेको छ। जबकि अमेरिकी अन्वेषकहरूले क्लिनिकल मेडिसिन, आधारभूत जीवन विज्ञान र भौतिक शास्त्रमा धेरै अनुसन्धान गरेको पाइएको छ।

अमेरिकी वैज्ञानिक अनुसन्धानलाई चीनसँग थप प्रतिस्पर्धात्मक बनाउन १० वर्षको लागि २०० बिलियन डलर दिने गरी राष्ट्रपति जो बाइडेनले चिप्स तथा विज्ञान ऐनमा हस्ताक्षर गरेकै दिनमा यो रिपोर्ट प्रकाशित भएको हो।

तर, चीनले भने सो ऐनको विरोध गरेको थियो। उक्त ऐनलाई ‘शीत युद्ध र जिरो-सम गेम मानसिकताबाट ग्रस्त’ भएको भन्दै अमेरिकामा रहेको चिनियाँ दूतावासले गत महिना 'तीव्र विरोध' गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell