
काठमाडौं : पहिरोका कारण रसुवा खण्डको पासाङल्हामु मार्ग क्षति भएपछि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। माझगाउँ– बनुवा घुम्ती खण्डमा मंगलबार राति गएको पहिराले उक्त मार्ग क्षति बनाएपछि आमभञ्ज्याङ सिम्ले, तारूके हुँदै तल्लो धारापानी क्षेत्रबाट यातायात संचालना गराइएको हो।
रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बनुवा खण्डको पासाङल्हामु मार्ग क्षतिग्रस्त स्थान पुनःनिर्माण गराउन धेरै समय लाग्ने प्राविधिक सुझाव आएकाले तारूकेतर्फको ग्रामीण सडक प्रयोगमा ल्याइएको हो। आम भञ्ज्याङदेखि पालेको वन, सिम्ले तारूके हुँदै धारापानी पुगेर पुनः पासाङल्हामु मार्गमा जोडिने सो ग्रामीण सडक साँघुरो भएकाले जीप, कार, मोटरसाइकलजस्ता स–साना सवारीसाधन मात्र गुढाउन सवारी चालकलाई अनुरोध गरिएको छ।
गोसाइँकुण्डका यात्रुलाईसमेत सोही ग्रामीण सडकबाट ओहरदोहर गराइ धार्मिकयात्रा सफल गराइएको बताइएको छ। बोगटीटार नजिक पालेको वन सालघारी मोडबाट पासाङल्हामु मार्ग छोडी पूर्वतर्फको सिम्ले- भोर्ले सडकलाई पच्छ्याई सिम्ले गाउँ, डौडरेखोला, साँधिखोला, थुम्को, बेलचौर तारूके, कदमघारीहुँदै पुनः पासाङल्हामु मार्गमा जोडिने बताइएको छ। पासाङल्हामु मार्गको बनुवा खण्डमा पहिराले सडक क्षति बनाएपछि चीनबाट आयात भएका मालसामानको ढुवानी रोकिएका छन्।
चीनसंगको व्यापार व्यवसाय अभिवृद्वि गर्ने उत्तरी रसुवागढी नाकाबाट हुने कारोबारमा सहजताको लागि तत्काल सडक मार्ग संचालन गराउन प्रजिअ जैसीले सडक डिभिजन कार्यालयका प्रविधिकसँग समन्वय भइरहेको बताए। डाईभर्सन गर्ने स्थान नभएका कारण सोपहिरो गएको स्थानमा ग्याबिन पर्खाल निर्माण गर्न कम्तीमा एक महिना लाग्ने बताइएको छ। रासस