काठमाडौं : अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरणबारे प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जवाफ दिन अस्वीकार गरेका छन्।
बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सीसीटीभी फुटेज प्रकरणबारे पत्रकारले सोधेको प्रश्नमा प्रहरी महानिरीक्षक सिंहले जवाफ दिन अस्वीकार गरेका हुन्।
अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्नको लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको थियो। ल्याबबाट फुटेज रिकभर भएपनि फुटेजमा भएका मानिसहरु चिनिने अवस्था भने थिएन। सो विषयमा पत्रकारहरुले आज प्रहरी महानिरीक्षक सिंहलाई प्रश्न गरेका थिए।
जवाफमा सिंहले भने, ‘म जवाफ दिन सक्दिनँ। म फरेन्सिक विज्ञ होइन। यस विषयमा मेरो जवाफ छैन।’
बजेट तर्जुमामा अनधिकृत व्यक्तिको प्रवेश गरेर करका दर हेरफेर भएको विषयमा संसदीय विशेष समितिले सीसीटीभी फुटेजबाट रिकभर गर्न प्रहरीलाई दिएको थियो। प्रहरीको फरेन्सिक ल्याबले पठाएको फुटेज बुझ्न नै नसकिने क्वालिटीको प्राप्त भएको थियो।
विज्ञहरुले फुटेज रिराइट र डिभाइसमा ट्रान्सफर गर्दा फुटेज बुझ्न नसकिने रिकभर भएको जवाफ समितिमा दिएका थिए।
बजेट तर्जुमाका क्रममा जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको सूचना सार्वजनिक भएको थियो। सोबारे सीसीटीभी फुटेज माग गर्ने पक्षलाई मन्त्रालयले डिलिट भइसकेको जवाफ दिएको थियो।