PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चुनावका लागि महत्वपूर्ण २ जिम्मेवारीमा आफैंलाई राखे ओलीले : बाँकी नेतालाई के काम?



पहिलोपोस्ट

चुनावका लागि महत्वपूर्ण २ जिम्मेवारीमा आफैंलाई राखे ओलीले : बाँकी नेतालाई के काम?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव तयारीको महत्वपूर्ण दुई जिम्मेवारीमा आफैंलाई अघि सारेका छन्। घोषणापत्र मस्यौदा समिति र चुनाव परिचालन कमिटीको नेतृत्व ओली आफैंले गर्ने भएका हुन्। पार्टी कार्यालय च्यासलमा बिहीवार बसेको सचिवालय बैठकले मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि भन्दै विभिन्न निर्णय गरेको छ।

अरु नेताहरुलाई पनि विभिन्न जिम्मेवारी दिइएको भए पनि महत्वपूर्ण जिम्मेवारीको नेतृत्व ओली आफैंले राखेको एमालेका नेताहरुले बताएका छन्। 

अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गर्ने निर्णय आजको बैठकमा भएको हो। वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको घोषणापत्रको मस्यौदा समितिमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तोकिएका थिए। अहिले प्रदेश तथा प्रतिनिधि सभामा ओली आफैंले समितिको नेतृत्व गर्ने भएका हुन्। कमिटीमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू अष्ठलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। 

ओलीकै अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन भएको एमाले प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, केन्द्रीय विभागका सचिव र जनसंगठनका अध्यक्ष र महासचिव रहने गुरुङले बताए। 

बैठकले केन्द्रीय स्दस्यमा जीवन गौतम, बृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा र अमृत राजवंशी मनोनित गर्ने निर्णय गरेको छ। त्यसैगरी, नवराज पौडेललाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको गुरुङले बताए । 

विभिन्न विभागमा रिक्त रहेका सचिव मनोनयनित भएका छन्। 

सुन्दर भुसाल उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, विमल शर्मा कृषि तथा पशुपन्छी विकास विभाग, सुरज अधिकारी पुस्तकालय तथा अभिलेख विभाग, घनेन्द्र श्रेष्ठ पर्यटन प्रबर्द्धन तथा नागरिक उड्डयन विभाग, मेघराज पौडेल युवा तथा खेलकुद विभागको सचिव चयन भएका छन्। 

एस.जी.शर्मा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, सोभियत ढकाल विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग, केवी उप्रेती सहकारी तथा गरिबी निवारण विभाग, आरसी लामिछाने भूमि व्यवस्था विभागको सचिवमा चयन भएको गुरुङले बताए।

सन्जीव रोकाहा विज्ञान तथा प्रविधि विभाग, पुष्कर खाती सामाजिक सुरक्षा विभाग र गजेन्द्र थपलिया शहरी विकास विभाग मा छानिएका हुन्। 

बैठकले केही केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ। रामदयाल मण्डल मधेश प्रदेशको  सहइन्चार्ज तोकिएका छन्।

सरोज यादव महोत्तरी जिल्लाको इन्चार्ज र  प्रमोद नारायण यादव सहइन्चार्ज तोकिएका छन्। कृष्ण थापा  कास्की जिल्लाको इञ्चार्ज तोकिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell