PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रधानमन्त्री देउवाको निर्देशनपछि गठन भयो मिटरब्याज नियन्त्रण कार्यदल



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाको निर्देशनपछि गठन भयो मिटरब्याज नियन्त्रण कार्यदल

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार बिहान गृहमन्त्री खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका थिए।

त्यसपछि गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन्।

कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन्। कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ।

कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell