PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दुई वर्षपछि पाटनको कुम्भेश्वरमा लाग्यो जनैपूर्णिमा मेला



पहिलोपोस्ट

दुई वर्षपछि पाटनको कुम्भेश्वरमा लाग्यो जनैपूर्णिमा मेला

काठमाडौं : साउन शुक्लपूर्णिमा अर्थात जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वरमा भव्य मेला लागिरहेको छ। कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले आज सो स्थानमा स्नानका साथै महादेवको आरधना गर्न ठूलो सङ्ख्यामा मानिस भित्रिएका हुन्।

हिजो राति ११ बजेदेखिनै कुम्भेश्वरमा भक्तजनको भीड लागिरहेको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुरमार खड्गीले बताए। उनले भने, ‘महादेवको दर्शन गर्नाका साथै पूजा तथा हातमा डोरो बाँध्न र जनै धारण गर्नका लागि थुप्रै मानिस मन्दिरमा भित्रिरहेका छन्।’ मेला भने सहज रुपमा संचालन भइरहेको अध्यक्ष खड्गीले जानकारी गराए।

मन्दिरभित्रका साथै बाहिर डोरो तथा जनै लगाइदिने र लगाउने मानिसको पनि व्यापक सहभागिता रहेको समितिका उपाध्यक्ष वसन्त खड्गीले बताए। उनले भने, ‘दर्शनार्थीको घुइँचोले हामीलाई मन्दिरभित्र हिँड्डुल गर्न पनि गाहो भइरहेको छ।’ मन्दिरको भीडभाडमा हुनसक्ने चोरीलगायत अन्य घटनाका लागि भने सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी गराए।

अगस्त्य ऋषिले कुम्भ अर्थात कलशमा महादेवको आह्वान गरेर उत्पति गराएकाले कुम्भेश्वर महादेव भनिएको मन्दिरका मूल पुजारी माधवश्याम शर्माले बताए। उनले भने, ‘यस मन्दिरमा कुम्भेश्वर र सर्वेश्वरका दुई मूर्ति छन् । सजिलैसँग दर्शन गर्न सकिने देखिरहेको महादेव सर्वेश्वर हुन्।’

 सर्वेश्वर महादेवलाई मृत्युञ्जय महादेव पनि भनिने गरिएको मूल पुजारी शर्माले जानकारी गराए। सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन्। श्री स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन्। मार्कण्डेय ऋषिले सर्वेश्वर महादेवको आरधना गरी आफ्नो छोटो आयुलाई चिरञ्जीवी बनाएको कुरा पुराण आदिमा उल्लेख छ। सर्वेश्वर महादेवको आरधना गरे रोगव्याधि निको भई दिर्घायु प्राप्त हुने विश्वास हिन्दू तथा बौद्ध धर्मावलम्बीमा छ।

त्यसैगरी उक्त महादेव मन्दिरको काखमा दश महाविद्यामध्ये एक विद्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुजिने बङ्गलामुखी देवीको मन्दिरसमेत छ। मुलुकमा कोभिड–१९को महामारी भित्रिएकाले विगतको दुई वर्षमा भने उक्त मन्दिरमा जनैपूर्णिका दिन मेला लागेको थिएन। हाल केही मात्रामा कोरोना न्यून रहेकाले मेला लागेको हो। कुम्भेश्वरमा हरेक साउनको सोमबार, बालाचतुदर्शी, शिवरात्रि आदि पर्वमा भक्तजनको ठूलो उपस्थिति हुने मूल पुजारी शर्माको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell