PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

यस वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण : अहिलेसम्म कहाँ कति पानी पर्‍यो?



रासस

यस वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण : अहिलेसम्म कहाँ कति पानी पर्‍यो?

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागको तथ्याङ्कअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ। यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११)सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ।

विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कूल ७७ वटा केन्द्रको तथ्याङ्कमा सोही अवधिको सरदर वर्षा आठ सय ६८ दशमलव सात मिलिमिटर भएको छ। जसअनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको हो। यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले आँकलन गरेको छ। सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगष्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँदछ।

हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन सुरु भएयता हालसम्म आठ सय ३५ दशमलव तीन मिलिमिटर अर्थात ५६ दशमलव सात प्रतिशत वर्षा भएको जानकारी दिए। यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार चार सय ६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ। उनले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आँकलन गरिएको बताए।

प्रदेश नम्बर १ र वाग्मती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू-भागमा सरदरभन्दा बढी वर्षा भएको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू-भागमा सरदरभन्दा कम वर्षा भएको छ।

नेपालमा यो वर्ष गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ। नेपालमा पूर्वी भेग भएर मनसुन भित्रिने गर्दछ। मनसुन अवधिमा एक हजार पाँच सय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मक रूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताइन्। महाशाखाको पछिल्लो विवरणमा हाल मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशका थोरै स्थानमा मेघ/गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि आइतवार र सोमवार मौसम बदली भई देशका धेरेजसो स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए। आज काठमाडौंको अधिकतम ३० दशमलव पाँच र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ।

वीरेन्द्रनगरमा १४ र पोखरामा १० मिलिमिटर वर्षा भएको छ। राजधानी काठमाडौंमा गए रातिदेखि वर्षा भएकाले छैन। बिहान मौसम खुले पनि अहिले उपत्यकाको आकाश आंशिक बदली रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell