PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हजुरबुवाबाट सुनेका कथालाई क्यानभासमा उतार्दै कुशल, के कुराले गर्छ उनलाई चित्रकलाप्रति आकर्षित ?



मुकुन्द घिमिरे

हजुरबुवाबाट सुनेका कथालाई क्यानभासमा उतार्दै कुशल, के कुराले गर्छ उनलाई चित्रकलाप्रति आकर्षित ?

काठमाडौं : दुईवटा फ्रेम। त्यसलाई चार भागमा विभाजन गरिएको छ। सबैभन्दा माथि हात्तिको टाउको देखिन्छ। त्यसबाट तल गणेशको जस्तो शरीर देखिन्छ। त्यस्तै तल्लो भागमा बाघमाथि शिव बसेको जस्तो देखिने बाघ र खुट्टामात्रको पेन्टिङ छ। सबैभन्दा तल शिवको छातिमा कालीले टेकेको जस्तो तस्बिर छ। जसमा नाग र शिवले लगाएको बाघको छाला देखिन्छ।

एक हप्ता अघि बबरमहलस्थिल नेपाल आर्ट काउन्सिलमा कुशल कार्कीले बनाएको यो पेन्टिङ प्रदर्शनीमा राखिएको थियो। ललितकलामा स्नातक गरिरहेका उनी अन्तिम वर्षको ‘प्रोजेक्ट’ पेस गरिरहेका थिए।  

हेर्दा चित्र। तर चित्रबाट उनले देखाउन खोजेको, बुझाउन चाहेको विषयबस्तु भने गहण छ। माथि वर्णन गरिएका तस्विरमा उनले मानिसमा हुने गर्व र अहंकारलाई देखाउन खोजेका छन्। मानिस जित्न चाहन्छ। जित्न ऊ जे पनि गर्न तयार हुन्छ। त्यसैलाई नै उनले ओइल पेन्टिङमार्फत देखाउन चाहेका छन्।

‘मान्छेको इगो र प्राइडलाई लिएर बनाएको हुँ। मान्छे अरुलाई दबाएर आफू माथि बसेको आइडियालाई अनि अरुलाई दबाएर आफूले आफूलाई जस्टिफाइ गर्न खोजेको कुरालाई, भगवानको नाममा धेरै मिथिकल स्टोरीहरु लिएर त्यसमा विरोधाभास खोजेर डाइसेक्ट गरेर बनाएको हो,' उनले भने, 'त्यो काममा शिवले बाघको छाला ओडनु हुन्छ, ओड्नका लागि मानिसभित्र रहेको एनिमल इन्टिङ्क्टलाई दबाएर गरेर राख भनेको भनिन्छ। त्यो त हाम्रो प्रोजेक्सन हो नि त।'

त्यस्तै तल्लो पेन्टिङमा उनले ‍स्थापित व्‍याख्‍यालाई चुनौती दिएका छन्।

'कालीले शिवलाई टेकिरहेको तस्बीर हामीले सानैदेखि देखेर आएको हो। किन टेकेको भन्दा शिवले कालीको एनिमल इन्सिङ्कटलाई दबाउनका लागि भनिन्छ। तर, मैलेचाहीँ एनिमल इन्सटिंक्टलाई नै च्यालेन्ज गरेर बनाउन खोजेको हो। हामी आफैले बनाएको आइडियाले गर्दा खेरी जनवारमाथिको हाम्रो व्यवाहारलाई किन प्रमाणित गर्नुपर्‍यो? भन्न विचार हो मेरो।'

++

गोकर्णका कुशल कार्की उनका हजुरबुवासँगै रहेर हुर्किए। हिन्दु धार्मिक कथाहरु अनि दर्शनका कुरा उनले सानो उमेरमै हजुरबुवासँग सिके। सँगसँगै त्यसभित्र विरोधाभाषका कुराहरु पनि महसुस गरे। काठमाडौं विश्वविद्यालयबाट फाइन आर्ट्समा स्नातक गरिरहेका उनै कुशलले आफ्नो हजुरबुवाबाट सिकेका ‘मिथिकल’ कुराहरुलाई ‘ओइल पेन्टिङ’मा उतारेका हुन्।

यसरी चित्र कोर्न थालेको उनले धेरै भएको छैन। उच्च शिक्षाका लागि कलेज पुगेपछि उनले आफूमा रहेको यो खुबी पत्ता लगाएका हुन्।

भने, 'एकजना साथीलाई दुई वर्षपछि भेट्दै थिएँ। त्यतिबेला उसले चित्र बनाउँदै थियो। मलाई एकदमै राम्रो लागेको थियो। मलाई पनि सिकाउ भने। त्यहीबाट म बिस्तारै यसमै लागेँ,' उनले सुनाए।

एक साता अघि भएको प्रदर्शनीमा उनका अन्य पेन्टिङहरु पनि प्रदर्शनरत् थिए। सेतो पृष्ठभूमिमा हल्का निलो रंगमा भेडाको चित्र छ। यसो हेर्दा जुध्न गइरहेको जस्तो देखिन्थ्यो। त्यसभन्दा पछिल्लो अर्को रातो पृष्ठभूमिमा रहेको पेन्टिङमा एउटा मानिसले भेडाको टाउको तरवारमा लिएर बसेको छ, पहिलो तस्बिरको भेडातिरै फर्किएर।

भेडालाई विम्बका रुपमा देखाएर कुशलले के बुझाउन खोजिरहेका छन् त?

उनी भन्छन् : एकतर्फ भेडा बनाएको छु, अर्को तर्फ मान्छेले भेडाको नक्कल गरेर जुध्न गइरहेको दृश्य बनाएको छ। विश्वव्यापी रुपमा भेडालाई मुर्खका रुपमा हेरिन्छ। मान्छेमा कति अहंकार छ कि भेडासँग भेडै भएर जुध्न जानुपर्‍यो भन्ने सोचमा बनाएको हुँ। मान्छेले त बुझ्न सक्नुपर्न हो नि। मान्छेलाई सबैभन्दा माथि बस्नुपर्छ, शक्तिशाली हुनुपर्छ। त्यस्तो नगरेको भए जुन स्थितिमा हामी बाँचिरहेका छौं त्यो स्थितिमा पुग्दैन थियौं होला।' उनले यस पेन्टिङमा यस्तै प्रश्न र भ्रमलाई प्रस्तुत गर्न खोजेको बताए।

अर्को रातो पृष्ठभूमिमा रहेको पेन्टिङमा बाघ देखिन्छ। त्यो अर्को बाघसँग जुध्न गएजस्तो देखिन्थ्यो। तर अर्कोबाघको भेषमा भने मानिस हुन्छ। यसमा ‘मेटाफोरिकल आइडिया’ अघि बढाएको उनी बताउँछन्।

'हामी सोच्छौ नि बाघ जस्तै हुनुपर्छ भनेर बनाएँ। बाघलाई जंगलको राजा, सबै भन्दा बलियो रुपमा प्रस्तुत गरिएको हुन्छ,' उनले भने, 'म भित्र पनि बाघ छ भन्ने विचारले नै यो कथा आएको हो। यो भित्र पनि धेरै कुराहरु छन्। मल्टिपल लेयरहरु छन्। जस्तै बाघको छाला देखेर नरसिंह सोच्ला। कसैले शिवसँग लगेर जोड्ला।'

यी चित्रहरु प्रदर्शनीमा राखिरहँदा उनी पेन्टिङसँगै ‘कन्सेप्ट’ दुवै महत्वपूर्ण हुने मान्छन्। र, यसलाई सन्तुलन गर्नुपर्ने बताउँछन्।

'सुरुमा आइडिया सोच्छु, अनि थमनेलहरु बनाउँछु। त्यसपछि पेन्टिङ गर्न धेरै समय लाग्दैन। हप्ता दिनजति लाग्ला यो पेन्टिङलाई लाग्ला। एउटा पेन्टिङ गरि पनि राख्दिन। गर्छु, यति भए अहिलेलाई पुग्छ भनेर त्यसलाई राखेर फेरि पनि अर्को छ,' उनले भने, 'केही हप्ता पछि त्यो पेन्टिङलाई रिभिजिट गर्छु। मेरो पेन्टिङ स्टाइल पनि डिटेल रिफाइन छैन। मोमेन्टरी इनर्जीमा काम गर्न मन लाग्छ। रफ कामहरु हुन्छ।'

सोही प्रदर्शनीमा उनले एउटा तस्बिरमा टाउकहरुलाई चार भागमा बाँडिएको एउटा चित्र राखेका थिए। माथिको टाउकोमा माथिबाट अर्को हातले समातिएको थियो। तल्लोमा चारवटा त्यस्तै टाउका थिए भने तल्लो दुईवटा भागमा माथिका दुई टाउका भन्दा फरक पाँच/पाँचवटा टाउका राखिएको थियो। कुशल सो चित्रबाट आफूहरुले धेरै बिम्बहरु प्रस्तत गर्न खोजेको बताउँछन्।

'माथिको ब्रम्हाको कथा हो। उहाँलाई सृष्टीकर्ता भनिन्छ। उहाँलाई सबै थाहा भएको भए उहाँमा किन अहंकार हुन्थ्यो भन्ने हो। उहाँमा अहंकार भएर नै त काल भैरवले उहाँको शिर काटेको हुन्छ,' उनले अगाडि सुनाउँदै गए, 'राम्रो नराम्रो भन्ने हाम्रो मानव संसारमा मात्रै छ कि बाघले मृग खान्छ भने बाघलाई नराम्रो र मृगलाई राम्रो त भन्नु भएन नि।'

आफ्नो धारणालाई थप स्पष्ट पार्न तलका टाउका अर्थात रावणको उदाहरण उनले दिए।

'रामायणमा रावणलाई नराम्रो भन्ने एउटा पक्ष छ। राम्रो भन्ने पनि एउटा पक्ष छ। राम्रो र नराम्रोलाई छुट्याउने आइडिया के? बाल्मिकीले लेखेको र अरुले लेखेको फरक छ। ठाउँ अनुसार आफ्नो कथा छ,' उनले भने, 'रावणले पनि आफ्नो अहंकारलाई टाउकोलाई मेटाएर शिवलाई चढाउनु भएको छ। यो पनि इगो हो। दक्ष प्रजापतिको पनि इगोकै कारण टाउको आगोमै चढाइएको हुन्छ। अनि बोकाको टाउको लगाएको हुन्छ। फेरि अग्निको बाहन बोका हो। फेरि अग्निलाई नै बलि दिइरहेका हुन्छ।'

उनले थपे: मैले यसैलाई अहिलेको सन्दर्भमा लिएर गर्न खोजेको हो।

के कुरालाई गर्छ उनलाई पेन्टिङको विषयवस्तु प्रति आकर्षित ?

‘सानो कुराले स्ट्राइक भएर गरिने हो। मैले यसभन्दा अघि माछाको गरेको थिएँ,' उनले भने, 'त्यसबाट विकास गरेर आफ्नो विगतको प्रश्न गर्दै, बाल्यकाल र वरपरको विश्वासहरुलाई प्रश्न गर्दै मैले रामानुजनको रामायणलगायतका आफ्नो विचारसँग मिल्ने या नमिल्ने विरोधावासको आइडियालाई हेरेर बुझेर सिर्जना गरेको हो।'

पेन्टिङ कस्तो हो भन्ने हेर्ने मानिसमा पनि भर पर्ने उनको बुझाइ छ।

'कसैलाई एकदम हाइपर रियालिस्टिक मन पर्छ। कसैलाई मिनिमल कन्सेप्टको मनपर्छ। त्यो भनेरको आर्टिस्ट र हेर्नेमान्छे दुबैमा भर पर्छ,' उनले भने।

व्यवसायिक पाटोको कुरा गर्दा कलाको स्तर र किन्ने मानिसमा पनि भर पर्ने उनले बुझेका छन्। त्यसैले भन्छन् : नेपालको बजारमा मूल्य ठीकै छ। बिक्री हुँदा त बाँच्न सक्ने आधार हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell