PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भोजपुरको महभिर झरना बन्दैछ पर्यटकका लागि नयाँ आकर्षण



पहिलोपोस्ट

भोजपुरको महभिर झरना बन्दैछ पर्यटकका लागि नयाँ आकर्षण

भोजपुर : टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुन थालेको छ। गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो। गाउँपालिका-४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ। विगत वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीयवासीले बताउने गरेका छन्।

बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ। खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन्।

गाउँपालिकाले यहाँ पुग्ने बाटो विस्तार गरेसँगै झर्ना वरिपरि पर्यटकलाई लक्ष्य गरेर विभिन्न संरचना निर्माण गर्ने क्रम बढेको छ। भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गर्छ। दैनिक ११–१२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ। विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो।

टेम्केमैयुङ गाउँपालिकाको यो भेगमा पर्यटकीय क्षेत्र धेरै छन्। पर्यटकीय गन्तव्य चखेवा डाँडा तथा टेम्के डाँडा, मैयुङ डाँडा पनि यही मार्ग भएर जानुपर्ने हुन्छ। त्यस्तै गाउँपालिकाको वडा नं २ मा रहेको गोठेसिं होमस्टे पनि यही भेगमा पर्ने भएकाले घुम्न जाने मानिसको सङ्ख्या दिनानुदिन बढ्दै गएको स्थानीयको भनाइ छ। यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताको साथ काम गर्ने गाउँपालिकाले जनाएको छ। यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवागमनका लागि काम गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेत जानकारी दिए।

यसका लागि अञ्चल डाँडाबाट महभिर हुँदै चखेवा भञ्याङ र वडा नं ५ खावा, चोलन्तीलगायत क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर हुँगेबाट झरना हुँदै चखेवाभञ्ज्याङसम्म पदमार्ग विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

त्यस्तै, झरना आसपासमा ससाना दह निर्माण गरेर माछापालन तथा पार्क निर्माण गर्नाका साथै आगन्तुकलाई लक्षित गरेर खाजा, नास्ता खाने ठाउँको व्यवस्थापन गर्ने अध्यक्ष बस्नेत बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell