PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मध्यपुर थिमिमा निस्किए लायकू भैल: कसरी रोकिएको थियो, कसरी ब्युँतियो यो मल्लकालीन तान्त्रिक नाच ?



पहिलोपोस्ट

मध्यपुर थिमिमा निस्किए लायकू भैल: कसरी रोकिएको थियो, कसरी ब्युँतियो यो मल्लकालीन तान्त्रिक नाच ?

भक्तपुर : सापारु (गाईजात्रा) अन्त्यसँगै मध्यपुर थिमीमा विभिन्न नाचहरु प्रदर्शनमा आएका छन्। थिमी, बोडे, नगदेशमा नाच प्रदर्शनमा आएका हुन्।

शनिबार रातिदेखि भने मध्यपुर थिमीमा लोपोन्मुख 'लायकू भैलः' नाच सुरु भएको छ। शनिवार राति उपराष्ट्रपति नन्दबहादुर पुनले पनि यो नाच अवलोकन गरे। नेपालभाषामा लायकूको अर्थ दरबार र भैलः को अर्थ भैरव भन्ने हुन्छ।

४७ वर्ष रोकिएको सो नाच स्थानीयको सक्रियतामा केही वर्ष यतादेखि पुन: सञ्चालनमा आएको हो। मध्यपुर थिमिको लायकूबाट निस्किने यो नाच शनिबार बालकुमारी मन्दिर परिसरमा प्रदर्शन गरिएको थियो। तान्त्रिक विधिअनुसार नचाइने भैलः नाच आउने चार दिनसम्म प्रत्येक साँझदेखि राति अबेरसम्म विभिन्न टोलहरुमा प्रस्तुत गरिनेछ।

दुई वर्षअघि यहाँको युवाको सक्रियतामा पुनः संचालनमा आएको यो नाच गत दुई वर्ष कोरोना भाइरस संक्रमण महामारीका कारण संचालन हुन सकेको थिएन। भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि ३१ गते पञ्चमीसम्म मनाइने नाच संचालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुन श्रेष्ठले जानकारी दिए।

यस नाचमा दुई जना भैलः, दाःगिं (कुमारी) दुई जना र ज्यापुग एक गरी पाँच देवगण सहभागी हुने गर्छन्। भैल:ले खड्ग, कुमारीले डमरु र ज्यापुँगःले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गर्छन्। नाचका क्रममा भैलः र दागिंले क्रोधित मुद्रा प्रस्तुत हुने गर्छन्। त्यसपछि ज्यापुँगःले ताय् ले हानेर उनीहरूलाई शान्त बनाइन्छ। नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिए।

शनिवार राति लायकू भैल: नाच अवलोकन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन।

यो नाचका लागि देवगणहरुलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो। नाच संचालनका लागि आवश्यक रकम नगरपालिकादेखि विभिन्न दाता, सङ्घसंस्था र स्थानीय बासिन्दाले सहयोग गरेका छन्।

भूमिसुधारका कारण रोकिएको नृत्य

भैल: अत्यन्तै शक्तिशाली देवता हुन्। नेपाल भाषी बसोबास गर्ने टोलटोलमा भैल: को पूजा हुन्छ। नृत्य हुन्छ। तर ती सबै प्रचलन विस्तारै लोप हुँदै गएका छन्।

थिमीमा देखाइने लायकू भैल: नृत्य पनि २०२५ सालमा रोकिएको बताइन्छ। रोकिनुको कारण थियो नापीको आधारमा २०२४ सालमा भूमिसुधारले लायकू भैल: का गुठियारहरूको जग्गा रैतानी गर्नु। गुठीको जग्गा मासिएपछि भैल: नाचका पःमा (प्रधान नाइके) लगायतका आयस्ता नै खोसियो र कहिल्यै रोक्न नहुने भैल: नृत्य रकम अभाव भएर रोकियो।

४७ सालसम्म नाच रोकिएसँगै नाच सिकाउने, बाजा बजाउने र बाजा बजाउन सिकाउने गुरुहरू रहेनन्। जिउँदो रहेकाहरूलाई पनि नाचबारे कम मात्रै ज्ञान थियो। नाचमा लगाउने ख्वापा (मुकुन्डो), गरगहना, पोसाक केही नष्ट भए केही हराए। फलस्वरूप नृत्य नै लोप प्रायः भइसकेको थियो।

दुर्लभ किताब भेट्टाएसँगै ब्युँतियो भैल:

नाच लोप भएता पनि स्थानीयहरूले कयौँ साल यसलाई फेरि ब्युँताउने प्रयास गरेका थिए। स्थानीय सरकार आएपछि मध्यपुर थिमी नगरपालिकाले पनि उनीहरूलाई सघायो। तर, ४७ वर्षसम्म हराएको कुरा एक्कासि पाउन कहाँ सजिलो हुन्थयो र। न नाच्न जान्ने कोही थिए र नाच्न सिकाउन नै।

शून्य प्रयासबीच उनीहरूलाई ढुंगो खोज्दा देउता भेटिएजस्तै भयो, जतिबेला उनीहरूले लायकू भैल: नृत्यबारे एउटा अत्यन्त दुर्लभ र लुकाइएको पुस्तक भेट्टाए।

पुस्तकमा लायकू भैरव नृत्यबारे आवश्यक सबै जानकारी उल्लेख गरिएको थियो। नृत्यविधि, नाच्नेले लगाउने मखुन्डो बनाउने विधि, कलाकारका पोसाक र गरगहनासम्बन्धमा विस्तृत जानकारी पुस्तकमा उल्लेख थियो।

त्यही पुस्तकका आधारमा २०७२ सालमा लोप प्राय: भइसकेको लायकू भैल: नृत्य ब्युँताइएको थियो। त्यसपछि पनि लगातार दुई वर्ष भैल: नृत्य प्रदर्शन गरियो। तर, ०७५ सालमा थिमीका प्रजापति समुदायले पनि भैल: नृत्य प्रस्तुत गर्ने भएपछि लायकू भैल नृत्य त्यस वर्ष देखाइएन।

प्राचीनकालमा मध्यपुरथिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख दिएर हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि लायकूका संचालक सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्वान्सँग छलफल गरी स्थानीय मानिसमा तान्त्रिक विद्यामार्फतबाट मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किम्वदन्ती रहेको गुरु श्रेष्ठले बताए।

मध्यपुरथिमिको दिगु टोलमा पनि महाकाली नाच सुरु भएको छ। चार रातसम्म संचालन हुने महाकाली नाच पनि तान्त्रिक विधिअनुसारनै प्रदर्शन गरिने परम्परा छ। यता मध्यपुरथिमिको बोडेमा पनि रातिदेखि नीलबाराही नाच सुरु भएको छ। यो नाच चार दिनसम्म लगातार बोडेको विभिन्न टोलमा प्रर्दशन हुने गरेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए। 

राससको 'इन्पुट' सहित तयार पारिएको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell