PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जनकपुरमा भ्रष्टारचारविरुद्ध कार्टुनिस्टहरुको 'निशाना'



पहिलोपोस्ट

जनकपुरमा भ्रष्टारचारविरुद्ध कार्टुनिस्टहरुको 'निशाना'

काठमाडौं : मधेश प्रदेशको राजधानी जनकपुरधाममा ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’ भइरहेको छ।

जनकपुरस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहयोगमा भइरहेको प्रदर्शनीमा विभिन्न कार्टुनहरु राखिएका छन्।

‘निशाना’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा विभिन्न कार्टुनिस्टहरुको कार्टुन समावेश गरिएको छ। कार्टुनमार्फत देशमा विधमान भ्रष्टाचारका प्रवृत्तिहरुमाथि व्यंग्य गरिएको छ।

प्रदर्शनीको उद्घाटन गर्दै मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँक्नुपर्नेमा जोड दिँदै नेपाली समाजलाई भ्रष्टाचारबाट मुक्त गर्नुपर्ने बताएका थिए।

नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले प्रदर्शनीमार्फत समाजमा जागरण ल्याउने लक्ष्यका साथ प्रदर्शनी गरिएको बताए। कार्टुनिस्ट क्लब अफ नेपालका महासचिव रवि मिश्रले कार्टुनमार्फत खराब आचरणका विरुद्ध जागरण ल्याउने लक्ष्यका साथ देशका सातै प्रदेशमा प्रदर्शनी गर्न लागिएको बताए।

प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमि, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर लगायत ३६ कार्टुनिस्टका ५० कार्टुन राखिएका छन्। राजनीतिक, सांस्कृतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पर्यावरण, मानवअधिकार, न्यायक्षेत्र लगायतमा हुने भ्रष्टाचारका विविध पक्षमा केन्द्रित कार्टुन प्रदर्शनरत छन्।

यसअघि यो प्रदर्शनी काठमाडौं र पोखरामा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell