PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाली क्रिकेटलाई सफल बनाउन प्रभाकरको परीक्षा : ‘हार्ड हिट’ लाई लक्ष्य बनाइरहेको टोलीले सुन्ला मनोजलाई?



मुकुन्द घिमिरे

नेपाली क्रिकेटलाई सफल बनाउन प्रभाकरको परीक्षा : ‘हार्ड हिट’ लाई लक्ष्य बनाइरहेको टोलीले सुन्ला मनोजलाई?

काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा अमेरिका, स्कटल्याण्ड र यूएईबिच सिरिज चलिरहेको छ। सिरिजको आइतवार सम्पन्न खेलमा स्कटल्याण्डले यूएईलाई ८६ रनले हराउँदा २७ खेलबाटै ४० अंक जोड्दै दोस्रो स्थानमा बलियो पकड बनाएको छ। लिग २ को सबै ३६ वटा खेल खेलिसकेको शीर्ष स्थानको ओमन भन्दा स्कटल्याण्ड ४ अंक अथवा २ जितले मात्र पछाडि छ। स्कटल्याण्डको ९ खेल अझै बाँकी रहेकाले शीर्ष स्थानमा सबैभन्दा प्रबल दाबेदारको रुपमा देखिएको छ। त्यस्तै, तेस्रो स्थानमा २५ खेलबाट २६ अंक जोडेको यूएई र चौथो स्थानमा २६ खेलबाट २५ अंक जोडेको अमेरिका छन्। पाँचौ स्थानमा १८ खेलबाट १८ अंक जोडेको नामिबिया छ।

२० खेलबाट १७ अंक जोडेको नेपाल छैटौं स्थानमा छ। शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायर्स खेल्ने होडमा रहेको नेपाल कमजोर देखिन थालिसकेको छ भने एकदिवसीय मान्यता नै जोखिममा पर्ने सम्भावना देखिएको छ। शीर्ष तीनको होडमा रहेका टीममध्येमा नेपाल धेरै पछाडि छ। नेपाल भन्दा पछाडि रहेको पपुवा न्युगिनीले २० खेलबाट मात्र २ अंक जोडेको छ।

क्रिकेट विश्वकप लिग २ का पछिल्ला आठ खेलमा जम्मा दुई वटामा मात्र जित निकालेको छ। लिग २ कै पछिल्ला चारवटा एकदिवसीय खेलमा नेपालको स्कोरबोर्डमा २ सय रन जोड्न सकेको छैन। प्रशिक्षक उमेश पटवाल, डेभ ह्वाटमोर र पुबुदु दासानायकेसम्म आइपुग्दै सबैले ८ महिना कार्यकाल बिताउँदै राजीनामा दिए। पछिल्लो समय नेपाली टिममा एकताकै कमजोर देखिएको र जितको भोक नदेखिएको यसअघिका प्रशिक्षक पुबुदु दासानायकेले बताइसकेका छन्।

प्रभाकरको परीक्षा

यस्तोमा भारतीय टोलीमा कुनै समय अलराउण्डरको जिम्मेवारीमा अब्बल ठहरिएको मनोज प्रभाकर नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा आएका छन्। उनले भारतमा रणजी टिम र अफगानिस्तानको बलिङ प्रशिक्षक भएर काम गरे पनि पहिलो पटक कुनै देशको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक भएर काम गर्दैछन्।

शनिवार नेपाल आएका प्रभाकरले आइतवार टीयू क्रिकेट मैदान पुगेको टिमको अभ्यास हेरे। त्योसँगै उनले आफ्ना योजनाहरु पनि खुलाए।

'अभ्यासमा सबै ब्याट्सम्यानले ब्याटिङ गरे। मैले रियलाइज गरेँ: उनीहरु धेरै आईपीएल हेर्छन्, धेरै टी २० हेर्छन्। उनीहरु हार्ड हिटलाई लक्ष्य बनाइरहेका छन्,' प्रशिक्षक प्रभाकरले भने, 'यसमा टेक्निक छुटिरहेको छ। उनीहरुले जब क्रिकेटको टेक्निकल पक्ष महसुस गर्नेछन्, त्यतिबेला ब्याटिङ अर्डरको परिवर्तन थाहा हुनेछ।'

उनले लामो फर्म्याटका खेलहरुको आवश्यकता देखाउँदै त्यसको टेक्निकल पक्षबाट सुरुवात गर्नुपर्ने सुनाए।

'सबै जना आईपीएल खेल्न चाहन्छन्। त्यहाँ टेक्निकहरु बिग्रिरहेका छन्। त्यो पावर गेम हो। यदि एकदिवसीय र टेस्ट म्याच खेल्ने हो भने त्यो टेक्निक गेम हो,' उनी भन्छन्, 'त्यो लेभलमा खेल्नका लागि टेक्निक सही हुनुपर्छ। मेरो योजनामा सबैभन्दा पहिला हामी टेक्निकमा काम गर्नेछौं, अनि अन्य कुरा सुरु हुनेछन्। धेरै एकदिवसीय खेलहरु चाहिन्छ।'

प्रशिक्षक प्रभाकरले नेपाली टोली २२ वर्ष औसत् उमेर भएको युवा टोली भएको भन्दै चाँडो सिक्ने क्षमता रहने बताए।

'यो धेरै युवा टोली छ। २/३ वर्ष लाग्छ अनुभव हासिल गर्न। यो उमेरमा अनुभव शेयर गर्दा रेस्पोन्स चाँडो आउँछ। आज मैले अभ्यास सत्र हेरेको थिएँ,' उनले भने, 'सबै कुरा ठीक गए मैले जे जिम्मेवारी पाएको छू चाहे त्यो राजस्थान होस, यूपी या देल्ली होस्, अफगानिस्ता त्यो तबमात्र पुरा हुन्छ जब टिमका सदस्यहरुले सुन्न तयार हुन्छन्। र, सकारात्मक प्रतिक्रिया दिन्छन्। राम्ररी जान सके भविष्य राम्रो हुन्छ।'

क्रिकेट विश्वकप लिग २ मा एकदिवसीयमा अझ १६ खेल बाँकी रहेकाले धेरैभन्दा धेरै खेल जित्ने लक्ष्य रहने उनले बताए।

'हामीले २० खेल खेल्यौं। जसमा ११ गुमायौं। हाम्रो पहिलो लक्ष्य भनेको बाँकी १६ खेलमा कन्सन्ट्रेट गरेर धेरै भन्दा धेरै खेल जित्ने हुन्छ,' उनले भने। प्रभाकरले आफूले नेपाल धेरै क्रिकेटलाई माया गर्ने, समर्थक र कडा परिश्रम गर्ने खेलाडी भएको भन्ने सुनेको बताउँदै क्रिकेटको 'बेसिक'लाई बलियो बनाउन आफू आएको तथा यसको नतिजा देखिने बताए। उनले यसका लागि उदाहरण अफगानिस्तानको दिए।

'मैले अफगानिस्तानमा सुरु गर्दा अफगानिस्तान कहीँ थिएन। अहिले फरक देख्न सक्नुहुन्छ,' उनले भने, 'युवा टिमले चाँडो सिक्छ। अनि यहाँको औसत् उमेर भनेको २२ छ। यो युवा टिम हो, जति चाँडो उनीहरुले सिक्छन्, त्यति चाँडो खेल सुध्रिन्छ।'

अघिल्ला प्रशिक्षक पुबुदु दासानायकेले टीममा ९५ प्रतिशत एकता भएको बताएका थिए। साथै टीममा सानासाना समूह देखिएको भन्दै ‘सिस्टम’मा समस्या भएको बताएका थिए।

सन् २०११ देखि २०१५ को बिचमा अन्तिम पटक नेपाल आउँदा टिमको सोच फरक पाएको भन्दै पुबुदुले भनेका थिए, ' २०११-२०१५ सम्म नेपालमा थिएँ, त्यतिबेला टिममा कुनै समस्या थिएन। तिनीहरू एक टोली थिए र तिनीहरू जित्नमा धेरै केन्द्रित थिए, खेलहरू जित्नको लागि आफ्नो दुई सय प्रतिशत दिए। यसपटक आउँदा मैले यहाँ धेरै साना समूहहरू देखेँ। उनीहरुको सोचाइ बिल्कुलै फरक थियो।'

उनले अगाडि भनेका थिए : उनीहरुको क्रिकेट खेल्नमा ध्यान थिएन। त्यहाँ 'सिस्टम' वरिपरि धेरै अन्य समस्याहरू थिए। त्यो स्पष्ट हुन केही समय लाग्यो।

भर्खरै नेपाली टीमको ‘कमान्ड’ सम्हाल्न आएका प्रभाकरले भने टीमभित्रको विभाजनबारे भने कूटनीतिक जवाफ दिए।

'हामी परिवार हौं। यदि कसैलाई दुख्छ भने सबैलाई पीडा हुन्छ। उनीहरुलाई परिवार र टीमका रुपमा अघि बढाउनका लागि भविष्यका लागि राम्रो हुन्छ,' प्रशिक्षक प्रभाकरले भने, 'वो केहेतेहे ना नालायक बच्चेको मनिटर बनाया जाता हे। जो बदमास छ उसैलाई इन्चार्ज बनाउने। त्यसरी मलाई लाग्छ जब गलत गर्छ तब उसलाई म्याच जिताउन दवाब पर्छ।'

नेपालको टेस्ट सम्भावना बारेको प्रश्नमा उनी केही पन्छिए र भने : पहिला हामीले आफूलाई एकदिवसीयमा प्रमाणित गर्नुपर्छ। अनि अर्को स्टेपमा टेस्टको बाटो खुल्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell