
काठमाडौं : सोमवार दिउँसो ललितपुरको झम्सिखेलस्थित हेरिटेज गार्डेनमा नेपाली कांग्रेसका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम सुरु हुँदै थियो। ११ बजे सुरु हुने भनिएपनि प्रमुख अतिथि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा एक घण्टा ढिला गरी कार्यक्रमस्थल आइपुगे।
प्रधानमन्त्री आइपुग्नसाथ कार्यक्रम सुरु भयो। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का कार्यक्रममा उपस्थित भएनन्। कोरोना संक्रमणका कारण उपचाररत भएकाले कार्यक्रमको सभापतिको जिम्मा पाए उपसभापति धनराज गुरुङले।
अभिमुखीकरण कार्यक्रमको स्वागतका लागि उनी मञ्चमा उक्लिए। सुरुमै उनले कार्यक्रमका प्रमुख अतिथिलाई सम्बोधन गरे। सम्बोधनका क्रममा उनले भने, ‘कार्यक्रमका प्रमुख अतिथि श्रद्धेय सभापति एवं सम्माननीय प्रधानमन्त्री सुशील कोइराला…।’ गुरुङले यति भन्नसाथ हलमा हाँसो फैलियो।
तुरुन्तै उपसभापति गुरुङ सच्चिए। र, प्रधानमन्त्री शेरबहादुर देउवालगायत सबैलाई स्वागत गरे। उपसभापति गुरुङले जनप्रतिनिधि जनताको लागि खुल्ला किताब भएको उल्लेख गर्दै पारदर्शी भएर काम गर्न निर्देशन दिए।
‘पारदर्शिताबिना सुशासन सम्भव छैन। जनप्रतिनिधिको जीवन जनताका लागि खुल्ला किताब बनोस्। आशंका गर्ने ठाउँ कतै नदिनुस्’, गुरुङले भने, ‘अँध्यारो कोठाभित्र गएर म कसैलाई ठग्न सक्छु भन्ने लाग्छ भने त्यो नसोच्नुस्। अँध्यारो कोठाभित्र पनि भगवानले तपाई हाम्रो कर्तुत हेरिरहेको हुन्छ। त्यसैले पारदर्शिता होस्।’
गुरुङले चुनावको बेला गरेका प्रतिबद्धतासमेत पूरा गर्न जनप्रतिनिधिलाई आग्रह गरे। गुरुङले स्थानीय तह पार्टीको जग, प्रदेश तह पर्खाल र संघ छानो भएको उल्लेख गर्दै काङ्ग्रेसले बहुमत लक्षित यात्रा जग अर्थात स्थानीय तहकै आधारमा तय गर्न लागेको बताए।
उनले जनप्रतिनिधिले जनतालाई पसिना दिनुपर्ने बताए। ‘चुनावको बेला गरेका प्रतिबद्धता पूरा गर्नुहोला। देश र जनताको लागि हिजो शहीदले रगत दिए। तपाईहरुले जनतालाई पसिना दिनुस्,’ गुरुङले भने।