
हेटौँडा : वाग्मती प्रदेश प्रमुख यादव चन्द्र शर्माले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन्। उनले सोमवार नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम वाग्मती प्रदेशसभा बैठकबाट पारित भई आएको विभिन्न ३ वटा विधेयकलाई प्रमाणीकरण गरेका हुन्।
प्रदेश प्रमुख सचिवालयका प्रवक्ता कृष्णप्रसाद आचार्यका अनुसार शर्माले प्रदेशसभा सचिवालयबाट प्रमाणीकरणको लागि प्राप्त भएको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०७९, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन-२०७५ लाई संशोधन गर्न बनेको विधेयक-२०७९ लाई प्रमाणीकरण गरेका छन्।
त्यस्तै, प्रदेश प्रमुख शर्माले प्रदेश अनुसन्धान ब्यूरो, सेवा गठन स्थापना तथा कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक-२०७९ को समेत प्रमाणीकरण गरेको प्रवक्ता आचार्यले जानकारी दिए।