PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

फिफाले लगायो भारतमाथि प्रतिबन्ध, खोसियो अन्डर-१७ महिला विश्वकप आयोजना गर्ने अधिकार



पहिलोपोस्ट

फिफाले लगायो भारतमाथि प्रतिबन्ध, खोसियो अन्डर-१७ महिला विश्वकप आयोजना गर्ने अधिकार

फुटबलको सर्वोच्च निकाय इन्टरनेश्नल फेडेरेसन अफ एसोशिसन फुटबल ‘फिफा’ले भारतमाथि प्रतिबन्ध लगाएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)मा तेस्रो शक्ति हाबी भएको भन्दै फिफाले तत्कालै सुरु हुने गरि अनिश्चितकालका लागि भारतमाथि प्रतिबन्ध लगाएको हो।

फिफाले प्रतिबन्ध लगाएसँगै अब भारतमा अक्टोबरमा हुने भनिएको फिफा अन्डर १७ महिला विश्वकप २०२२ पनि संचालन नहुने भएको छ। फिफाले प्रतियोगिताबारे चाँडै निर्णय गर्ने जनाएको छ। प्रतिबन्ध पछि फिफाले आफूहरु भारतीय खेल मन्त्रालयको सम्पर्कमा रहेको र अधिकारीहरुसँग वार्ता जारी रहने जनाएको छ।

के हो विवाद ?

भारतको फुटबल संघको चुनावी विवादमा अदालतको 'हस्तक्षेप' पछि फिफाले प्रतिबन्ध लगाउन सक्ने भन्दै बहस चलेको थियो। भारतको सर्वोच्च अदालतले प्रफुल पटेललाई हटाउँदै तीन सदस्यीय कमिटी अफ एडमिनिस्ट्रेटर (सीओए) गठन गरेको थियो। जसको प्रमुखमा 'टप कोर्ट जज' एआर देव नियुक्त भएका थिए। अदालतले सीओएलाई भारतीय फुटबल संघ (एआईएफएफ)को कार्यकारी समितिको चुनाव गराउने जिम्मेवारी दिएको थियो। त्यसका लागि पूर्व प्रमुख निर्वाचन आयुक्त डा एसवाई कुरैशी र भारतीय फुटबल टोलीका पूर्व कप्तान भास्कर गांगुली संलग्न दुई सदस्यीय समितिले लोकपालद्वारा पेश गर्ने विधान अनुसार मतदाता सूची तयार गर्न भनिएको थियो। अदालतले गठन गरेको समितिले संघको दैनिक क्रियाकलाप संचालन गर्ने र प्रतियोगिता संचालनका लागि पूर्व समितिसँग सहयोग लिन स्वतन्त्र हुने जनाएको थियो।

यसअघि मे १२ मा दिल्ली फुटबल क्लबले प्रफुल पटेलले अनाधिकृतरुपमा दशक बढी समिति संघको नेतृत्वमा रहेको भन्ने निवेदनलाई अदालतले स्वीकार गरेको थियो। त्यसपछि विवाद थप चर्किँदै गएको थियो। यसैक्रममा भारतको खेलकुद मन्त्रालयले सर्वोच्च अदालतमा संघको अध्यक्षको रूपमा पटेलले तीन कार्यकाल सेवा गरिसकेको भन्दै थप ढिलाइ नगरी चुनाव गराउन 'एफिडेबिट' दिएको थियो।

'...विद्यमान समिति (एआईएफएफ) को कार्यकाल सकिएको छ, र वर्तमान अध्यक्ष (प्रफुल्ल पटेल) अध्यक्षको रूपमा १२ वर्ष भन्दा बढी पूरा भइसकेका छन्, निवेदक (एआईएफएफ) ले खेलकुद अन्तर्गत अवस्थित विद्यमान निर्देशनहरू बमोजिम कुनै ढिलाइ नगरी चुनाव गराउनुपर्छ।' मन्त्रालयको एफिडेबिटमा भनिएको छ।

पटेलले डिसेम्बर २०२० मा संघको अध्यक्षको रूपमा आफ्नो तीन कार्यकाल र १२ वर्ष पूरा गरेका थिए।  विवादबिच प्रफुल पटेलले भारतीय फुटबल प्रतिबन्धमा जानसक्ने बताएका थिए। उनले यसविषयमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनो र महासचिव फात्मा समौरासँग कुरा गर्ने र उनीहरूलाई 'कडा कारबाही' नगर्न अनुरोध गर्ने बताएका थिए। तर, फिफाले तेस्रो पक्षको हस्तक्षेप बढेको भन्दै भारतमाथि प्रतिबन्ध लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell