काठमाडौं : डाक्टर बाबुराम भट्टराई र वामदेव गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्ने भएका छन्।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले चुनाव चिन्ह दिने स्वीकृति गरेको हो। नेपाल समाजवादी पार्टी(नेसपा)गठन गरेका भट्टराई केही समय यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवादमा थिए।
यस्तै नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका गौतम पनि चुनावका विषयमा माओवादी केन्द्रसँग सहकार्य गर्न पुगेका हुन्। गौतम र भट्टराईले माओवादीसँग केही सर्तहरू पनि राखेको र त्यसबारेमा छलफल हुने नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। मंसिर ४ गतेका लागि घोषणा भएको प्रदेश तथा प्रतिनिधि सभामा गौतम र भट्टराई माओवादीसँग सहकार्य गर्ने निर्णयमा पुगेका थिए।
'उहाँहरूको सर्त छन् त्यसबारेमा पनि छलफल गर्छौँ,'महराले भने। माओवादी केन्द्रले चुनावबारेमा छलफल गर्न भोलि फेरि स्थायी कमिटीको बैठक बोलाएको छ।
निर्वाचन आयोगलाई जानकारी गराउने तयारी
बाबुरामले २०७२ माओवादी परित्याग गरेर नयाँ शक्ति पार्टी गठन गरेका थिए। नयाँ शक्ति चुनावमा सफल हुन नसकेपछि उनले तत्कालीन संघीय समाजवादी फोरोम सँग एकता गरेर समाजवादी पार्टी बनाए। पछि समाजवादी र राष्ट्रिय जनतापार्टी बिच एकता भएपछि बाबुराम जनता समाजवादी पार्टी (जसपा)मा सक्रिय रहे। तर,केहि समय यता जसपाका अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट रहेका भट्टराईले जसपा त्यागेर नेपाल समाजवादी पार्टी गठन गरेका छन्। आउने चुनावमा बाबुरामले माओवादीसँग सहकार्य गर्ने निचोडमा छन्। आज दिउँसो १ वजे एउटै चुनाव चिन्हमा उम्मेदवार हुनेबारेमा निर्वाचन आयोगलाई जानकारी गराउने माओवादी र नेसपाको तयारी छ।
समाजवादी केन्द्रको वहस छाडेर माओवादीसँग सहकार्य
यस्तै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य गौतम पनि माओवादीसँगै सहकार्य गरेर चुनावमा जाने भएका छन्। नेकपा एमालेबाट राजीनामा गरेर पार्टी एकता अभियान चलाइरहेका गौतम पछिल्लो समय समाजवादी केन्द्र बनाउनेबारेमा छलफलमा थिए। गौतमलाई पनि माओवादीले आफ्नो चुनाव चिन्ह दिने निर्णय गरेको छ। त्यसो त गौतमले नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एकता गर्नु आफ्नो उद्यश्य भएको बताउँदै आएका छन्।