काठमाडौं : सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’को ट्रेलरमा त्रिकोणात्मक प्रेमसम्बन्धलाई देखाइएको छ। फिल्मका मुख्य कलाकार अदिती बुढाथोकी, धिरज मगर र धिरज नाडकरले सोमवार सार्वजनिक ट्रेलरमा स्थान पाएका छन्।
अदितीको माया पाउन दुवै धिरजबिच हुने झगडा र उनीहरूले गर्नुपरेको संघर्षलाई ट्रेलरमा देखाइएको छ।
‘इन्टु मिन्टु लण्डनमा’मा रोमान्टिक लबरब्वाईको रुपमा देखिएका धिरज मगर यस फिल्ममा फरक अवतारमा देखिएका छन्। उनको एक्सन लुक र बोल्ड आवाजले दर्शकको ध्यान खिचेको छ। त्यसैगरी, फिल्म ‘कृ’ पछि अदितीले पनि यस फिल्ममार्फत कमब्याक गरेकी छिन्।
फिल्ममा धिरज, अदिती र धिरजका साथै बादल भट्ट, कमलमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ। साथै, यसै फिल्ममार्फत अभिनेत्री तृप्ति नाडकरका छोरा धिरज नाडकरले डेब्यू गर्दैछन्।
बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन्। सुष्मा गुरुङ सह-निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन्। फिल्मको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन्।
यो फिल्म दशैँको अवसरमा आगामी असोज १४ गते प्रदर्शन हुँदैछ।