
काठमाडौं : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तामाङ समुदायले गुम्बा र घेवामा भन्दा शिक्षा र सीपमा जोड दिनु राम्रो भएको बताएका छन्। मंगलवार काठमाडौंको बौद्धस्थित तामाङ घेदुङको कार्यालयमा तामाङ पत्रकार संघ, वाग्मती प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त भनाई राखेका हुन्।
तामाङ समुदायमा गुम्बा र घेवा संस्कृति व्यापक भएको उल्लेख गर्दै उनले शिक्षामा जोड दिए विभेदको बार भत्कने तर्क गरे। 'शिक्षामा जोड गर्नुपर्छ। गुम्बा र घेवामा भन्दा विद्यालयमा जोड दिओ। गुम्बा पनि राम्रो हो। तर यो भन्दा जोड आवश्यक शिक्षाको हो। घेवा खर्चिलो हुन्छ। त्यहाँ हुने खर्च मृतकको परिवारको शिक्षामा लगानी गरे राम्रो हुन्छ,' मुख्यमन्त्री पाण्डेले भने, 'यसपटक धेरै बजेट गुम्बामा माग आयो। शिक्षाले विभेदको अन्त्य गर्छ।'
जातीय विभेद पनि शिक्षाले भत्काउने उल्लेख गर्दै उनले एकले अर्कोलाई होच्याउने काम नहुनेसमते बताएर
'हामी खानमात्र जान्दछौं'
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डले नेपालीहरुसँग खाने सीपमात्र भएको बताए। भारतमा काम गर्ने नेपाली मजदुर र नेपालमा काम गर्ने भारतीयसँग तुलना गर्दै मुख्यमन्त्री पाण्डले यस्तो भनाई राखेका हुन्। '८ लाख भारतीयले यहाँ काम गर्छन्। उनीहरु स्किलफुल छन्। २८ लाख नेपालीले भारतमा काम गर्छन्। ती २८ लाखले भन्दा तेब्बर बढी ८ लाख लाखले बढी कमाएर लान्छन्। हामी कहाँ छौं?' उनले भने, 'हामी खानमात्र जान्दछौं। केही पनि सीप छैन हामीसँग। शिक्षा र सीप बेगर कुनै देश उभो लाग्दैन।'
अन्य राष्ट्रबाट भने सीप बिनै पुगेका नेपालीबाट राम्रो रकम नेपाल भित्रिएको मुख्यमन्त्री पाण्डेको भनाई थियो। 'अघिल्लो वर्ष नेपाल सरकारको बजेट १६ खर्ब। त्यतिबेला बाहिरबाट अनस्किल लेबरबाट ल्याएको पैसा ९ खर्ब ६१ खर्ब। केही जान्य छैन। जोत्दाजोत्दै माला लगाएर प्लेन चढाएका कोरा मान्छेबाट ल्याएका पैसा यति धेरै,' पाण्डेले भने, 'यसैले हामी वाग्मती प्रदेश सरकारबाट १० हजार युवालाई सरकारले आफैले पालेर तालिम दिएर सक्षम बनाउँदैछौ। त्यसका लागि १५ करोड छुट्याएको छ। केन्द्र सरकारले पनि यस्तो कार्यक्रम गरोस्। प्रत्येक घरमा सीप भएको मान्छे होस्।'