PahiloPost

Jul 3, 2024 | २० असार २०८१

माओवादीको चुनाव चिह्न लिएर कहाँबाट उम्मेदवारी दिँदैछन् वामदेव?



पहिलोपोस्ट

माओवादीको चुनाव चिह्न लिएर कहाँबाट उम्मेदवारी दिँदैछन् वामदेव?

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीको चुनाव चिन्ह प्रदान गर्ने मंगलवार निर्णय गर्‍यो। गौतम र प्रचण्डबिचको लगातारको छलफलपछि माओवादी केन्द्रले गौतमलाई चुनाव चिन्ह दिएको हो।

'माओ‌वादीको एकतर्फी निर्णयमात्रै होइन। हाम्रो तर्फबाट पनि हामीले लगातार छटलफल गरेका थियौं,' वामदेव निकट नेता निमकान्त पाण्डेले भने। गौतमसँगै माओवादीले नेपाल समाजवादी पार्टी (नेसपा)लाई पनि चुनाव चिन्ह दिने भएको छ। 

गौतमलाई चुनाव चिन्ह दिएसँगै अब उनी कहाँबाट उम्मेदवार बन्छन् त? पाण्डेले बर्दिया या प्युठान दुई ठाउँमध्ये एक ठाउँमा गौतमले उम्मेदवारी दिने बताए। 'बर्दिया पनि नराम्रो होइन उहाँका लागि। पहिला चुनाव जित्नु भएकै ठाउँ हो। प्युठान उहाँको जन्मस्थान हो,' उनले भने। गौतमको जोड भने प्युठान रहेका उनी निकट नेतहरु बताउँछन्। गौतम पक्षका कति जनालाई माओवादीले टिकट दिन्छ भन्नेबारे भने एकिन नभइसकेको पाण्डेले बताए। उनका अनुसार गौतम पक्षका नेताहरु पनि आज निर्वाचन आयोगमा गएर चुनाव चिन्हका बारेमा जानकारी गराउने छन्। 

गौतमले यसअघि २०७४ को निर्वाचनमा आफूलाई पार्टीभित्रै अन्तर्घात गरेर हराइको बताउँदै आएका छन्। प्रतिनिधि सभामा पराजति भएपछि उनी राष्ट्रिय सभामा मनोनित भएका थिए। 

नेकपामा विवाद भएका बेला आफू कतै नलाग्ने बताउने गरेका गौतमले पछिल्लो समय एकता अभियान चलाइरहेका थिए। एमालेका अध्यक्ष केपी ओलीसँग पनि केही समय अघिसम्म संवादमा रहेका गौतम पछिल्लो समय भने माओवादीका नेताहरुसँग संवादमा छन्। उनलाई माओवादी केन्द्रले चुनाव चिन्ह दिएपछि उनी माओवादीतर्फ खुलेका हुन्। 

त्यसो त नेकपा एकीकृत समाजवादी गठन हुनुअघि गौतमले आफ्नो साथ माधव नेपाललाई हुने बताएका थिए। एमालेबाट राजीनामा गरेका गौतम अन्तत:एकीकृत समाजवादीमा पनि लागेनन्। उनले जनताको बहुदलीय जनवाद त्यागेको भन्दै नेपालको आलोचना गर्दै आएका छन्। 

नेकपामा प्रधानमन्त्रीको लोभ गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको भन्दै गौतमले प्रचण्डको पनि आलोचना गर्छन्। तर,चुनावमा उनको अभियानले मात्रै जित्ने स्थिति छैन। त्यसैले उनले तत्कालीन नेकपाका सचिवालय सदस्यलाई राखेर समाजवादी केन्द्र बनाउनेबारे सिंहदरबारमा दुई पटक छलफल पनि गरेका थिए। तर,तत्कालका लागि समाजवादी केन्द्र बनाउने च्याप्टर क्लोज भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell