
हेटौँडा : वाग्मती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सामाजिक सूचना व्यवस्थापन प्रणालीले सामाजिक विकृति, विसंगति अन्त्य गर्न महत्वपूर्ण भुमिका खेल्ने भएकाले चाँडै लागू गर्नुपर्ने बताएकी छिन्। मंगलवार हेटौँडामा सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै उनले बैदेशिक रोजगारका नाममा भइरहेको बेचबिखन जस्ता आपराधिक कार्य रोकथाममा पनि प्रणालीले सहयोग गर्ने बताइन्।
‘मानव बेचबिखनसँगै महिला, बालबालिका लगायतको यकीन तथ्यांक नहुँदा बजेट कार्यक्रम निर्माण र कार्यान्वयनमा समस्या भइरहेको छ’, उनले भनिन् , ‘सामाजिक, आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्छ।’
असहाय बालबालिकाको यकीन तथ्यांक नहुँदा धेरै समस्या भएको भन्दै उनले त्यस्ता बालबालिकाका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको जिकिर गरिन्। तथ्यांक संकलनमा स्थानीय तहहरूको महत्वपूर्ण भुमिका रहेको भन्दै यसकार्यमा एकद्वार प्रणाली उचित हुने बताइन्।
कार्यक्रममा वाग्मती प्रदेशकी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री ईन्द्रमाया गुरुङले सामाजिक सूचना प्रणालीसम्बन्धी कार्य महत्वपूर्ण रहेको भन्दै सूचना संकलन, व्यवस्थापन, पहुँच र परिमार्जनका लागि तीनै तहको सरकारले विशेष भुमिका खेल्नुपर्नेमा जोड दिइन्। अमेरिकी विकास नियोग यूएसएड र बेलायती दातृ निकाय यूकेएडको आर्थिक सहयोगमा वीनरक ईन्टरनेशनल, शान्ति फाउण्डेशन र शक्ति समूहले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको हो।
यसअघि, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा उद्घाटन गरिसकेको सामाजिक सूचना व्यवस्थापन प्रणालीमा तथ्यांक पहुँच र भण्डारणका लागि स्थानीय तह र प्रदेश सरकारहरुलाई संलग्न गरिने बताइएको छ। मानव बेचबिखनलाई प्रमुखता दिएर तथ्यांक संकलन गरिने सामाजिक सूचना व्यवस्थापन प्रणालीमा हिंसा पीडित, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरुको पनि संकलन गरिने जनाइएको छ।