काठमाडौं : सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’बाट अभिनेता धिरज मगर फिल्ममा कमब्याक गदैछन्। फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मा लबरब्वाई बनेका धिरज यस फिल्ममा फरक भूमिकामा देखिएका छन्।
असोज १४ गते रिलिज हुने यो फिल्मको ट्रेलर रिलिज भइसकेको छ। विक्रान्त ठकुरी काजी बनेका धिरजको बोल्ने संवाद र शैली कबड्डी फेम्ड अभिनेता दयाहाङ राईसँग मिल्दोजुल्दो छ।
फिल्मको ट्रेलर हेरिसकेपछि पत्रकारले धिरज मगरलाई प्रश्न तेर्साए, ‘ट्रेलरमा तपाईको डाइलग सुन्दा धिरजभन्दा कबड्डीको बिरकाजी बढी सुनिन्छ जस्तो लाग्छ नि?’
जवाफमा धिरजले भने, ‘यस फिल्ममा मेरै भ्वाइस छ। म दयाहाङ राईलाई आइडल मान्छु। पक्कै पनि हामी नयाँ कलाकारहरूले उहाँहरूजस्तो पुरानो कलाकारको बाटो त हिड्ने होनी ! जसरी कबड्डीको काजीको जस्तो सुनियो भन्नुभएको छ। खासमा भन्ने हो भने विक्रान्तको चरित्र पनि काजी नै हो। त्यही भएर केही कुरा मिल्न जान्छ होला।’
अभिनयको हिसाबले दयाहाङसँग तुलना गर्नु निकै ठूलो कुरा भएको उनको तर्क छ।
उनले भने, ‘उहाँसँग तुलना हुनु मेरो लागि निकै खुसीको कुरा हो। यसमा मेरो काजीकै भूमिका भएकाले दयादाईको नक्कल गरेको फिल हुनसक्छ। तर, यो फिल्म हेरेपछि हरेक गाउँका काजीहरूले आफूलाई पाउनेछन्।’
‘बाबरी’मा देखिएको विक्रान्त रियल लाइफको धिरजभन्दा निकै फरक रहेको उनले दाबी गरे। आफूले विक्रान्तको चरित्रमा फिट हुन निकै मेहनेत गर्नुपरेको समेत उनले सुनाए।
फिल्ममा धिरजका साथै अदिती बुढाथोकी, धिरज नाडकरको मुख्य भूमिका छ। साथै बादल भट्ट, कमलमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ।
यसै फिल्ममार्फत अभिनेत्री तृप्ति नाडकरका छोरा धिरज नाडकरले डेब्यू गर्दैछन्। यो फिल्म दशैको अवसरमा आगामी असोज १४ गतेप्रदर्शन हुँदैछ।