काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित भएका देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को दफा २१(१०) बमोजिम तीन जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसरी मनोनित हुनेमा केन्द्रीय सदस्यमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ) छन्।
यस्तै कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा(सुनसरी) र सीता देवकोटा (नवलपुर) पनि कांग्रेस केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
यसअघि देउवाले देउवाले नेताहरू जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।
सभापति देउवाले यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए। विधानअनुसार १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा व्यवस्था छ।