PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट र बन्द प्रशिक्षणको कार्यतालिका सार्वजनिक



पहिलोपोस्ट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट र बन्द प्रशिक्षणको कार्यतालिका सार्वजनिक

पोखरा : प्रदेश खेलकुद परिषद् गण्डकीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ। एघार वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पश्चात परिषद्ले मंगलवार तालिका सार्वजनिक गरेको हो।

परिषद्का सदस्य तथा प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीका अनुसार परिषद्ले दुई चरण विभाजन गरी खेलाडी छनोट गर्ने भएको छ। उनका अनुसार पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षण सहित छनोट गरिने छ भने दोस्रो चरणमा २२ वटा खेलहरुको जिल्ला छनोटको तयारी गरिने भएको छ।

पहिलो चरणमा भदौ ३ गतेबाट १४ वटा खेलहरुको विशेष प्रशिक्षणसहित खेलाडी छनोट प्रतियोगिताहरु हुनेछन्।

यस्तै, दोस्रो चरणमा २२ खेलका लागि भदौ ९ देखि १२ गते सम्म कार्यक्रम  सञ्चालन हुने परिषद्ले तय गरेको छ। विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट गरिने छ। परिषद्ले यहि कार्यक्रमबिच प्रदेश छनोटलाई ‘स्टेट गेम्स’को रुपमा ‘ब्राण्डिङ’ गरी अघि बढाइने तयारी पनि थालेको छ।

‘प्रदेश छनोट खेल हाम्रो लागि नयाँ समेत हो, हामी नयाँ संरचनामा आइसकेपछि यसलाई खेलकुदको विशेष पर्वका रुपमा अघि बढाउने मात्रै नभई आगामी वर्षहरुका लागि समेत तयारी गरी अघि बढ्ने खुट्किलो समेत हो। हामीले यो छनोट प्रतियोगितालाई ‘स्टेट गेम्स’को रुपमा ब्राण्डिङ गर्ने गरी तयारी गर्दैछौँ,’ संयोजक क्षेत्रीले भने।

३९ वर्षपछि पोखरा आएको नवौँ राष्ट्रिय खेलकुद यहि असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुँदैछ। सो प्रतियोगितामा ३८ खेल हुँदै छन्। खेलमा सहभागी जनाउने खेलाडीहरु भदौ २६ देखि असोज २६ गते सम्म बन्द प्रशिक्षणमा रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell