PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौं उपत्यकाभित्र शृङ्खलावद्ध डकैती : दुई तीन दिनदेखि निगरानी राखेर यसरी छिर्थे घरमा



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र शृङ्खलावद्ध डकैती : दुई तीन दिनदेखि निगरानी राखेर यसरी छिर्थे घरमा

काठमाडौं : काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा चोरी तथा डाँका गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय राम सिंह तामाङ, मकवानपुर घर भएका ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुरकै ३५ वर्षीय सुशील भन्ने बाबुलाल थिङलाई विभिन्न मितिमा पक्राउ गरेको हो। उनीहरूले रातको समयमा घरहरूमा जबरजस्ती छिरेर परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गरगहना लिएर फरार हुने गरेका थिए।

उनीहरुले पछिल्लो समय साउन २४ गते राति कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित नारायण बस्नेतको घरमा धारिलो हतियार देखाई नगद, सुन तथा हीराका गरगहना समेत डाँका गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो।

सागर भन्ने राम सिंह तामाङलाई प्रहरीले सुरुमा नियन्त्रणमा लिएको थियो। उनीहरूले डाँका गर्ने क्रममा हातहतियार देखाई परिवारलाई नियन्त्रणमा लिएर उनीहरूको हात बाँधी मुखमा टेप लगाउने, आफूहरूलाई कहिले हामी प्रहरी हौँ खानतलासी गर्न आएका हौँ भन्ने तथा कहिले हामी सशस्त्र समूह हौँ तपाईँहरूले घरमा अवैध धन लुकाएर राखेको रहेछ कहाँ छ? देखाउनुस् भनी डर धम्की देखाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले भने।

उनीहरूले डाँका गर्ने घरमा २/३ दिन अगाडि देखि निगरानी गरी घर धनीलाई समेत भेटी तपाईँको घरको टिभी पुरानो रहेछ भित्रको सामान बहुमूल्य हुन्छ २ लाखसम्म आउँछ भनी घरको कोठा तथा ढोकाहरूको अवस्था समेत हेर्ने गरेको खुल्न आएको छ।

उनीहरूले यसअघि असार ६ गते काठमाडौंको शंखरापुर नगरपालिकास्थित खुलालटारमा लालबहादुर थापाको घरबाट सुनचाँदी र नगद समेत लुटेको खुलेको छ। त्यस्तै, असार १२ गते सुशीला थापाको घरमा धारिलो हतियार देखाई ६ लाख बराबरको धनमाल लुटेका थिए। असार २० गते काभ्रेपलान्चोक बनेपामा सलाम सिंह लामाको घरबाट १२ लाख ४९ हजार रुपैयाँ लुटेको उजुरी परेको थियो।

उनीहरू यसअघि पनि पक्राउ परि खुन डाँका, चोरी डाँका र कर्तव्य ज्यान जस्ता जघन्य मुद्दामा जेल सजाय भुक्तान गरेको खुलेको छ। सम्धी भन्ने दिलबहादुर तामाङ २०६८ सालमा ललितपुरबाट खुन डाँका केसपछि २०७८ साल पुस महिनामा जेल छुटका थिए। रामसिंह तामाङ २०६३ सालमा भक्तपुर जिल्लाबाट मानव बेचबिखन मुद्दामा जेल परि २०७४ सालमा छुटेका थिए। उनीहरु नेपाली सेनाका भगौडा सिपाइ र जनयुद्दका लडाकु समेत भएको खुलेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell