काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पारित गरियोस् भनी सदनमा प्रस्तुत गरेको उक्त विधेयक सदनको बहुमतले पारित गरेको हो।
विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले विधेयकको उद्देश्य नै प्रत्यायनको माध्यमबाट समरुपता प्रमाणित गर्ने र अन्तर्राष्ट्रिय मान्यता प्रदान गराउने तथा अन्तर्राष्ट्रिय व्यापारमा वस्तु र सेवाको पहुँच गराउनु रहेको बताए। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गरी आर्थिक विकासमा योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे।
यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारीले अत्यावश्यक विधेयक सदनमा आएको बताए। सांसद नवराज सिलवालले प्रत्यायन विधेयक ल्याएकामा सरकारलाई धन्वयाद दिए।
उनले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन तथा निरीक्षण र प्रमाणीकरण गर्नका लागि आधिकारिकता प्रदान गर्ने भएकाले पनि उक्त विधेयक महत्वपूर्ण रहेको बताए। उनले विधेयकमा नेपालको उत्पादन हो भनेर प्रमाणीकरण हुने भयो तर अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सन्दर्भमा पनि विशेष ध्यान दिन आग्रह गरे।
छलफलमा सांसद प्रेम सुवालले पनि भाग लिएर आफ्नो धारणा राखेका थिए। विधेयकमाथि उनले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक भदौ २ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।