PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नेपथ्यमा ‘प्रधानमन्त्री’, सिनमा सहकार्य : प्रचण्ड यसकारण झेल्न चाहन्छन् बाबुराम



प्रकाश भण्डारी

नेपथ्यमा ‘प्रधानमन्त्री’, सिनमा सहकार्य : प्रचण्ड यसकारण झेल्न चाहन्छन् बाबुराम
फाइल फोटो

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले मंगलबार दिउँसो एउटा फोटो सार्वजनिक गर्‍यो। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई र महिन्द्रराय यादव प्रचण्डको दायाँ बायाँ छन्, साथमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि। फोटो सार्वजनिक गर्नुको कारण प्रष्ट थियो-प्रचण्ड-बाबुराम अब एक ठाउँमा। मंगलबार नै निर्वाचन आयोगमा दुबै दलले माओवादीको चुनाव चिह्नमा उम्मेद्वार उठाउने जानकारी गराएका थिए।

माओवादी पार्टी कार्यालयमा मंगलबार दिउँसो भेटेका प्रचण्ड-बाबुरामले केहि दिनअघिनै सहमतिको टुंगो भने लगाइसकेका थिए। त्यसो त माओवादी परित्यागको ७ वर्षपछि बाबुराम पेरिसडाँडामा देखिँदा धेरैलाई अनौठो लाग्यो। तर, बाबुरामले भने कुनै अनौठो नभएको र आफू पार्टी छोडे पनि पटक-पटक माओवादीको पार्टी कार्यालय पेरिसडाँडा आएको बताए।

‘यो झुटो कुरो हो म पहिलोपटक आएको होइन। यो बीचमा पनि आएको छु,’ भट्टराईले माओवादीको पार्टी कार्यलयबाट निस्किँदै गर्दा प्रतिक्रिया दिए।

बाबुरामको माओवादी फिर्तीलाई प्रचण्डले भने ठेस लागेपछिको रियलाइजेसन भनेर विश्लेषण गरे।

‘हामीले धेरै ठक्कर खायौँ। देशले पनि दुःख पायो। हामी सबैलाई ठेस् लाग्यो,’ प्रचण्डको स्वीकारोक्ति थियो।

त्यो ‘ब्रेकअप’ र यो ‘प्याचअप’

२०७२ असोज ९ गते  बाबुरामले माओवादी परित्याग मात्रै गरेनन् उनले माओवादी केन्द्रलाई भत्किएको घरको संज्ञा दिए। नयाँ शक्ति गठन र त्यसको पराजय भोगेका बाबुरामका लागि संघीय समाजवादी फोरमसँगको एकता पनि फलदायी रहेन। समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी (राजपा) मा पनि बाबुराम सन्तुष्ट हुने कुरै भएन। जनता समाजवादी पार्टी बनाएर वैकल्पिक राजनीतिको वकालतीमा बाबुराम असफल मात्रै भएनन् शक्तिहीन समेत बने। किनभने माओवादी परित्याग गरेर एक्लै बाहिरएका उनी केही समयमा अरु नेता/कार्यकर्ता तान्न पनि सफल भएका थिए। तर,  माओवादीको सहकार्यमा पुग्दा भने उनीसँग शीर्ष नेतामा आफूबाहेक पूर्वमाओवादी कोही छैनन्। जसपामा पनि अध्यक्ष उपेन्द्र यादवसँगको तिक्तताले प्रचण्डसँग नजिकिन बाध्य भएका बाबुरामका लागि सहकार्य घोषणाको दिन भने मंगलबार बन्यो।

पढ्नुस्ः प्रचण्ड–बाबुराम सम्बन्ध, कहिले 'लभ' कहिले 'हेट' : आज 'डिभोर्स'

हुन त प्रचण्डले बाबुरामाथि त्यति बेला नै कठोर टिप्पणी गरेका थिए। बीबीसी नेपाली सेवासँग कुरा गर्दै प्रचण्डले ‘आफूले २५ वर्ष बाबुराम जस्तो अप्ठेरो मान्छेलाई झेलेको र अरु कसैले एक वर्ष झेल्न’ चुनौती दिएका थिए। हुन पनि बाबुरामलाई यो ७ वर्षको अवधिमा अरु नेतासँगको सहकार्य टिकाउन सकस पर्‍यो। अन्तत: उनी चर्किएकै घरमा फर्किने तयारीमा छन्।  जसको संकेत बाबुरामले मंगलबार पनि गरे -हाम्रो लक्ष्य राजनीतिक शक्तिहरुका बीचमा ध्रुबीकरणकरण गरेर देशलाई विकासको गतिमा लिएर जाने हाम्रो संकल्प छ। उनी माओवादीसँग त्यति बेलानै जोडिन आएका छन्, मंसिर ४ को चुनावको लागि गृहकार्य तीब्र भइरहेको छ। गठबन्धनकै एक घटक भएको भट्टराईको दाबीको अर्थ पनि त्यही हो कि गठबन्धनबाट पाउने भाग लिएर उनी माओवादीसँग सहकार्य गर्न चाहन्छन्। जसलाई कांग्रेस नेताहरुले भने त्यति सहजै स्वीकारेका छैनन्।

‘गठबन्धनका दलहरु एउटै चुनाव चिन्ह लिएर चुनावमा जाँदा केही फरक पर्दैन त्यो त्यसले सेयरिङमा असर गर्दैन,’ कांग्रेस उपसभापति धनराज गुरुङले भने।

नेकपामा सहमति, माधव नेपालाई ल्याएर केन्द्र

प्रचण्ड-बाबुराम दुबै जनाले पार्टी एकता नभएर चुनावी सहकार्य भएको बताएका छन्। माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले मंगलबार भट्टराई सँगै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई चुनाव चिह्न दिने निर्णय गरेको थियो। जसलाई एकताउन्मुख भएको भट्टराईले बताए।

‘तत्कालका लागि चुनावी प्रयोजनको लागि। अग्रगामी एजेण्डा पूरा गर्न एक्ला-एक्लैभन्दा पनि मिलेर जानु आवश्यकता भएकाले त्यो दिशातर्फ उन्मुख हुने हिसाबले लिएका छौं,’ उनले भने।

प्रचण्डले बाबुरामसँग मिले पनि नेपाल कम्युनिस्ट पार्टी नाम भने नछोड्ने बताए। जसमा सहमति नै भइसकेको प्रचण्डको दाबी छ। नेकपाका पछाडि के जोडने भन्नेबारेमा भने छलफल भइरहेको छ। ‘नेपाल कम्युनिस्ट पार्टी नै रहन्छ। चुनावपछि नेकपा वा समाजवादी केही हुन सक्छ। नेकपामा त हाम्रो सहमति भइसक्यो,’ प्रचण्डले भने।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई समेत पार्टी एकतामा ल्याउने प्रचण्डको योजना छ। त्यसका लागि पार्टी एकता संयोजन समिति बन्न लागेको उनले बताए।

‘यति नै हाम्रो लक्ष्य पनि होइन। माधवजीहरुसँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौँ,’ प्रचण्डले भने।

वामदेवको दाउ अर्कै

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय सदस्य वामदेव गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको विषयले चर्चा हुने गरेको थियो। त्यसो त गौतमलाई प्रधानमन्त्री हुने प्रश्नले लखेटीरहन्छ। उनले नेकपा एकता अभियान घोषणा गर्दा पनि आफू प्रतिनिधि सभामा पराजयको कारण नै प्रधानमन्त्री बन्ने घोषणा भएको बताएका थिए। आज निर्वाचन आयोग पुगेका गौतमले अहिले  भने प्रधानमन्त्रीबारे आफू चुप रहेको भन्दै पन्छिए।

‘प्रधानमन्त्रीको कुरै नसोध्नुस्। त्योभन्दा बित्तिकै मेरो सबै कुरा बिग्रिन्छ,’ उनले भने।

गौतमले आफ्नो एउटै उद्यश्य चुनाव जित्नु भएकाले माओवादीको चुनाव चिह्न लिने निर्णयमा पुगेको प्रष्टीकरण दिएका छन्।

‘म अहिले जित्न चाहन्छु। सूर्य चिह्न लिएर गएँ भने म हार्छु। हँसिया हथौडामा गठबन्धन छ। गठबन्धन अनेक हिसाबले अरु सबै पार्टीभन्दा अगाडि छ। एमाले पार्टीका नेता रिसाउन पनि सक्छन् गठबन्धन साच्चिकै इमान्दारिका साथ गठबन्धन हुने हो भने अरुले जित्न सक्ने ठाउँ देख्दिन,’ गौतमको भनाइ छ।

गौतम प्रधानमन्त्री पदबाट तर्किए पनि उनको प्रधानमन्त्री हुने इच्छा भने बेला बेलामा व्यक्त भइरहन्छ। प्रधानमन्त्री पदको लोभबाट प्रचण्ड पनि टाढा छैनन्। भारत भ्रमण होस् वा उनले नेपालमा दिएका अभिव्यक्ति नै किन नहुन उनले अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा भएको बताइरहेका छन्। बाबुरामलाई पनि चर्किएको घर फर्किनुपर्ने बाध्यता नै चुनाव भएको छ। माओवादीसँग नमिल्दा हुनसक्ने पराजयलाई ख्याल गरेर बाबुराम चर्किएको घरलाई रेट्रोफिट गर्ने योजनामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell